कपास खेती जगाउँदै हलेसीका महिला

हिमालय टाइम्स
Read Time = 6 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैँ बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ । नगरपालिकाले अनुदान उपलब्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६/०७७ देखि कपास खेती विस्तार गरिएको हो । साबिकको महादेवस्थान-६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आबद्ध ३४ महिला र साबिकको महादेवस्थान-९ कात्तिकेस्थित गोदावरी आमा समूहमा आबद्ध ३१ महिलाले कपास खेती लगाएका छन् ।

नेपाली पहिचान झल्काउने दौरा सुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रूपमा सवल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुनर्जागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।

कात्तिकेभन्दा केहीमाथि पर्छ त्रि-धार्मिकस्थल हलेसी । हलेसीमा लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने गरिन्छ । कपासको काँचो धागो उत्पादन गरेर त्यही हलेसीमा बिक्री वितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ । ‘लोप भइसकेको कपास खेतीलाई पुनर्जागृत गर्नुको अर्थ यसलाई पहिचान र पैसासँग जोड्ने प्रयत्न हो,’ मेयर राईले भन्नुभयो, ‘दौरा सुरुवालले देशको पहिचान झल्काउँछ । त्यसको कपडा र काँचो धागो बिक्री गरेर पनि आम्दानी लिन सकिन्छ । संस्कार संस्कृति पनि बच्यो, आम्दानी पनि हुने भयो ।’
किरात राई समुदायमा पुर्खा तायामा र खियामाले तुवाचुङमा कपास खेती गरेर कपडा बुनेर लुगा लगाउने चलन सुरु गरेको किम्वदन्ती छ ।

बाबुबाजेको पालासम्म कपासबाट खाँडीका कपडा उत्पादन गरिन्थ्यो । करिब चार पाँच दशकसम्म धेरैजसो घरमा खाँडी तयार हुन्थ्यो । खाँडीकै चोली, फरिया, दौरा सुरुवाल, भोटो बनाइन्थ्यो । तर, बजारमा थरीथरीका कपडा आउन थालेपछि खाँडीका कपडा बुन्ने प्रचलन क्रमशः हराउँदै गए । लोपोन्मुख बनिसकेको खाँडीको पुरानो तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । गाउँघरमा बाजेबजुले ‘कुटी कुटी धागो काट्न र पला बनाउन लगाएको प्रसंग अहिले पनि सुन्न पाइन्छ ।

पछिल्लो समय सबैले खाँडीको दौरा सुरुवालको महत्व बुझ्न थाले । नेपाली पोसाक दौरासुरुवालप्रति युवा पुस्ताले चासो राख्न थाले । त्यहीबेला नगरपालिकाले सहयोग गरेपछि कपास खेती सुरु गरिएको जुनतारा आमा समूहकी कोषाध्यक्ष जुना राई बताउनुहुन्छ । ‘पहिला कपडा पाइन्नथ्यो । कपासको कपडा बनाएर लगाउने गरिन्थ्यो । पछिबाट बजारमा थरिथरिका कपडा आउन थाल्यो । धागो निकाल्नु, धागो बनाउनु, दाना फाल्नु । नोमेक बढी लाग्ने र झन्झटिलो काम भनेर छाडियो,’ जुनाले भन्नुभयो, ‘अहिले दौरासुरुवालको महत्व बढ्न थाल्यो । युवा पुस्ताले पनि मन पराउन थाले । हाम्रो बारीमा उत्पादन गरेर आफैँले बुनेर लगाउन सकिन्छ भनेर फेरि कपास खेती सुरु ग¥यौँ । हाम्रो पहिलाको कल्चर पनि झल्काऔं न त भन्ने लाग्यो ।’

दुईवटा आमा समूहमा आबद्ध ६५ महिलाले प्रतिघर एकदेखि दुई रोपनीका दरले कपास खेती लगाएका छन् । नगरपालिकाको ११ वडामध्ये कात्तिकेमा मात्र व्यावसायिक रूपमा कपास खेती लगाइएको हो । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको जुना बताउनुहुन्छ । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । खाँडीको माग बढिरहेका बेला कपास खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाउने सपना साँचेको स्थानीय समला राई बताउनुहुन्छ । कपास खेती सुरु गरेका महिलालाई खाँडीको कपडा बुन्ने तालिम दिने नगरको योजना छ ।

कपास खेती प्रवद्र्धनका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६-०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनका लागि एक लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७७-०७८ मा १० लाख विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक वर्ष २० लाख विनियोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?