विद्युतीय बस उद्घाटनपछि लुम्बिनीमै थन्कियो

हिमालय टाइम्स
Read Time = 7 mins

भैरहवा । गत १३ असोजदेखि एक महिना परीक्षणकाल सञ्चालन गरिएको लुम्बिनीको विद्युतीय बस उद्घाटनमै सीमित भएको छ । असोज ११ गते ४३औँ विश्व पर्यटन दिवसको दिन गृहमन्त्री बालकृष्ण खाँणले बेलहियामा आयोजित कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई निर्देशन दिँदै सुरक्षाकर्मीको समन्वयमा विद्युतीय बस सञ्चालनमा आयो । कुनै पनि हालतमा अविलम्ब चलाउनुपर्ने निर्देशन आएपछि असोज १२ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षता बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसयाीको संघसंसथाको बैठकले १३ असोजबाट सञ्चालनमा ल्याउने निर्णय ग¥यो र उद्घाटन भई सञ्चालनमा आयो । तर, ती परीक्षणकाल चलेका बस एक महिना मात्रै चलेर बसेको छ ।

१३ असोजदेखि १३ कात्तिकसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क बसको सेवा लिएका थिए । दशैँ तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाइ समितिका संयोजक विश्व पौडेलले भन्नुभयोे । ६ वटा रुटमा पाँच वटा बसमार्फत ५२७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३८४ किमि दूरी यात्रा भएको छ । कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खान सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाइ समिति गठन गरेको थियो ।

लुम्बिनीमा सञ्चालित सटल बस सुरुको चरणमा पाँच दिन मात्रै सञ्चालन भएको थियो । सुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरि छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । बसको यान्त्रिक अवस्था, चार्जिङजस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल पाइएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो ।

निर्वाचन कार्यक्रमको मुखमा गृहमन्त्रीको आदेशमा सुचारु भयो भनेर चर्चामा आएको लुम्बिनीमा थन्किएर रहेका बस पुनः थन्किएपछि आलोचना सुरु भएको छ । कार्यविधि र कानुनी जटिलताका कारण धेरै पर्खाइपछि विकास कोषका विद्युतीय बस विभिन्न पाँच गन्तव्यमा गुडेका थिए । कार्यविधिले सञ्चालनमा रोकिएको सवारीसाधन दशैँ तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुटमा परीक्षण कालका लागि विकास कोषका उपाध्यक्ष अबेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले रिबन काटेर बस सञ्चालनको शुभाराम्भ गर्नुभएको थियो ।

परीक्षण कालमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी व्यवसायी र विकाष कोषले एक/एक वटाको व्यवस्थापन गरी सञ्चालनमा ल्याएका थिए । दीर्घकालीन योजनाबिनै ती बसहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि दशैँभरि निःशुल्क रूपमा सुचारु गराएर अहिले थन्काइएको छ । नितान्त सरकारी प्रयोगमा आउने सेतो प्लेटका गाडी गृहमन्त्रीको निर्देशनमा पर्यटकका लागि चलाइएको थियो ।

धेरै समयदेखि आलोचित बन्दै गरेको ती बस संचालनका लागि पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सन्चालन गर्नका लागि १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)लाई नै संयोजक तोकेको थियो । बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य रहेको कार्यदलले भदौमा नै कार्यविधिको खाका र अवस्थाबारे प्रतिवेदन बुझएका थिए । रिर्पोटमा कार्यदलले धेरै समयदेखि थन्किएका सवारीसाधनमध्ये पाँच वटा भ्यान र पाँच वटा बस संचालन योग्य थियो र नौ वटा भ्यानको ब्याट्रीमा समस्या देखिए जानकारी गराएका थिए । दशैैँअघि नै संचालन गर्न सकिने भन्दै कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसन लगायतका विषयमा प्रतिवेदन र कार्यविधिको खाका बुझाएपछि बस भने परीक्षण कालको लागि सुचारु भएको थियो ।

बुद्ध जन्मभूमि लुम्बिनी क्षेत्रको बढ्दो प्रदूषणमा कमि ल्याउन तीन वर्ष अघि एसियाली विकास बैंकले अनुदानमा पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई दिएको थियो । एडिबीले सन् २०१८ जनवरी ९ तारिखमा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेसन र सोलारसमेत उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौताअनुरूप बस र ट्याक्सी लुम्बिनी आए, तर कार्यविधि र कानुनी जटिलताका कारण चल्न नसकेर अलपत्र परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?