म्याग्दीका रातोढुंगा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन

Read Time = 9 mins

म्याग्दी । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुंगा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुंगा र ७ को डाडाखेतमा निर्माणाधिन सवस्टेशनको अनुगमन गरेका छन् ।

अनुगमनपछि उनीहरूले सम्बद्ध आयोजनाका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले डाडाखेत देखि राहुघाट जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । प्राधिकरण मार्फतनै सञ्चालित चार वर्षअघिनै सकिनुपर्ने ३३/११ केभी क्षमताको रातोढुंगा सवस्टेशनको काम अझै पुरा भएको छैन् ।

रातोढुंगा सबस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन बिस्तार र विद्युत आपुर्ति प्रभावित भएको मालिका गाउँपालिका–१ का वडा अध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो । मिलनचोक देखि रातोढुंगा जोड्ने प्रशारण लाइनको पोल गाड्न र तार तान्ने क्रममा विवाद भएपछि काम प्रभावित भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

५०० पोल गाडेर तार तान्नुपर्नेमा सिमलचौर लगायतका ठाउँमा जग्गाधनीले बिरोध गरेपछि ५० वटा पोल गाड्न र तार तान्ने काम रोकिएको उनले बताए । २०१६ मा एटुजेड इञ्जिनियरिङले कम्पनीले ठेक्का लिएको यो आयोजना ढिलाई हुनुमा निर्माण कम्पनीको पनि कमजोरी भएको आयोजना प्रमुख ढकालको भनाइ छ ।

पोल पर्ने जग्गाका धनीको अबरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण प्रभावित भएको छ । आठ करोडमा सन २०१६ मा ठेक्का सम्झौता भएको सबस्टेशन र प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो ।

सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता पाएको छैन ।

निर्माण कम्पनीका प्रतिनिधि सागर लुइटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कन्ट्रोल रुमको भवन निर्माण अन्तिम चरणमा छ । विवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्ने लक्ष्य सहित काम थालेको लुइटेलले जानकारी दिनुभयो ।

वर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ । हालसम्म पोल गाड्ने, दुई वटा भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन् ।

सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले स्थानीय स्तरमा देखिएका समस्या प्रशासन र पालिका, वडासँग समन्वय गरेर समाधान गरी काम गर्ने वातावरण बनाउने बताउदै घोषणा र प्रतिवद्धता अनुसार काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

गत जेठ महिनादेखि आयोजनाका अधिकारी, प्राविधिक, निर्माण ब्यवसायी र मजदुरहरू आयोजना स्थलमा थिएनन् । केही दिनअघि आएर काम गर्न थालेका छन् । रातोढुंगा सवस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउँदा समस्या भएको उहाँको भनाइ छ । २० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन डाडाखेतमा सवस्टेशन र प्रशारण लाइन निर्माण शुरु भएको हो । डाडाखेतमा ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजनाको ठेक्का अवधी ३० महिनाको छ । ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर स्वीचार्ड र कन्ट्रोल भवन निर्माण थालेको छ । डाडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न मिल्ने संरचना निर्माण भइरहेको छ । प्राधिकरणका निर्देशक जोशीले निर्माण कम्पनीलाई मजदुर, उपकरण थपेर निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिनुभयो ।

एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । १२ वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?