अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो : महामन्त्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने बताउनु भयो । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले कुनैबेला एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सिमति भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताउनु भयो । उहाँले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताउनु भयो । महामन्त्री शर्माले यतिबेला सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्ने बेला रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्छन्, अनौठो कुरा होइन । अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनि चाहन्न । तर विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको । अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । दूर दराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ । सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन । एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले सबै मिलेर लड्दा पनि जम्मा ५७ सिट मात्रै ल्याइरहेको अवस्थामा चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन । मैले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्नेदेखि लिएर ध्यान दिन उचित हुन्छ । सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्छ ।’

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताउनु भयो । उहाँले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उहाँले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताउनु भयो । उहाँले राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रश्तुती हुन सक्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले काँग्रेसले, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन । भत्किन दिनु हुँदैन । मेरो मस्तिष्कमा राष्ट्रपति को बन्नुपर्छ भन्ने बारेमा त्यस्तो अनुहार छैन । तर राष्ट्रपति भवनमा आउँदै गर्दा के बिर्सिनु हुँदैन भने नकारात्मक कुराहरु बिर्सिनु हुँदैन । राष्ट्रपति भवनमा हामीले व्यक्ति होइन, प्रवृत्ति लिएर जाने हो । त्यो प्रवृत्ति राजतन्त्र कालीन भन्दा भिन्न हुनुपर्छ । तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रश्तुती हुन सकोस् । राष्ट्रपतिमा काँग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ । अहिलेको राष्ट्रपतिले संविधानलाई भोइलेट गर्नुभयो । उल्लंघन गर्नुभयो ।’

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लंघन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?