चन्द्रगढीमा दुई दशकपछि राष्ट्रिय फुटबल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि राष्ट्रियस्तरको फुटबल हुने भएको छ । यहाँ फागुन दोस्रो साताबाट भद्रपुर झापा गोल्डकप आयोजनाको तयारी सुरु भएको हो । २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको थिएन । चन्द्रगढी नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समितिसमेत गठन भएपछि त्यसको तयारी अघि बढाइएको छ । समितिका महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा सचिवालयसमेत सञ्चालनमा आएको छ ।

मेची रंगशालामा प्रतियोगिताको आयोजना हुनेछ । त्यसका लागि रंगशाला पुनर्निर्माणको कामसमेत सुरु गरिएको छ । फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो मेची रंगशाला प्रयोगविहीन थियो ।

भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहने ढकालले बताउनुभयो । भद्रपुर नगरपालिकाले गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । गोल्डकपको विजेता टोलीले १३ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मूल आयोजक समितिले प्रतियोगिताका लागि विभिन्न उपसमिति पनि गठन गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?