अभिनेता सारुकको अन्त्येष्टि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ताम्राकारले बिहीबार साँझ रातोपुलस्थित आफ्नै निजी निवासमा आत्महत्या गर्नुभएको थियो । उहाँलाई आफ्नो घरको छिँडीमा घाँटीमा पासो लगाएको अवस्थामा फेला पारिएको थियो ।

अन्त्येष्टिअघि ताम्राकारको शव पशुपति आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । कलाकार संघले आफ्नो झण्डा ओढाएर उहाँलाई श्रद्धाञ्जली दिएको थियो । उहाँलाई श्रद्धाञ्जली दिन चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रविन्द्र खड्का, अभिनेता शिव श्रेष्ठ, उत्तम केसी, पवित्रा आचार्य, सौगात मल्ल, कृष्ण मल्ल, शर्मिला मल्ल, सविन श्रेष्ठ, गोपाल ढकाल ‘छन्दे’, धिरज मगर, खुस्बु खड्का, रमेश बुढाथोकी, मदनदास श्रेष्ठ, नवल नेपाल, कृष्ण ढुंगाना, भोलाराज सापकोटा, सुनिल कटुवाललगायत थुप्रै कलाकर्मी पशुपति आर्यघाट पुग्नुभएको थियो । अभिनेता ताम्राकारको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिनुभएको थियो । ताम्राकारको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मात्र पशुपति आर्यघाट पुर्‍याइएको थियो ।

उहाँ पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘हृयासट्याग माया’ मा अभिनयरत हुनुहुन्थ्यो । यो चलचित्र छायांकनकै क्रममा छ । चलचित्रको मुख्य अभिनेतासमेत रहनुभएका सारुक बिहीबार चलचित्रको सुटिङ गरेर घर फर्किनुभएको थियो । उहाँले ‘रानी’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुनुहुुन्छ । सात वर्षअगाडि दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’बाट सारुकले अभिनेताका रूपमा डेब्यु गर्नुभएको थियो ।

सारुकको निधनले नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उहाँलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?