उन्मुक्त चन्दले लुम्बिनीबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । भारतीय पूर्वक्रिकेटर तथा यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले नेपाल टी-२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्सबाट खेल्नुहुने भएको छ । गत वर्ष भारतीय क्रिकेटबाट सन्यास घोषणा गर्दै उहाँ अमेरिका प्रस्थान गर्नुभएको थियो । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू-१९ विश्वकप जितेको थियो । चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि दिलाउनुभएको थियो ।

उहाँले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबाट खेल्नुभएको छ । उहाँले ७७ प्रथम श्रेणी, १२० लिष्ट ए र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।

प्रथम श्रेणीमा आठ शतक र १६ अर्धशतकसहित कुल तीन हजार ३७९ रन बनाउनुभएको छ । लिष्ट एमा सात शतक र ३२ अर्धशतकसहित कुल चार हजार ५०५ रन बनाउनुभएको छ । लिष्ट एमा तीन शतक र पाँच अर्धशतकसहित कुल एक हजार ५६५ रन जोड्नुभएको छ ।

लुम्बिनीले तेस्रो विदेशी खेलाडीका रूपमा चन्दलाई सार्वजनिक गरेको हो । आयरल्याण्डका युवास्टार हृयारी टेक्टर र दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिका बलर शड्ली भान सेल्किक पनि लुम्बिनी अल स्टार्समा आबद्ध हुनुभएको छ । लुम्बिनीको मुख्य प्रशिक्षकका रूपमा इंग्ल्याण्डका पिटर ट्रेगोलाई समेत अनुबन्ध गरिएको छ ।

४१ वर्षीय पिटरले २२३ प्रथम श्रेणी खेल खेल्दा १५ शतक र ५४ अर्धशतकसहित नौ हजार ६४४ रन बनाउनुभएको छ । यस्तै, उहाँले २०६ लिष्ट ए खेलमा १० शतक र २६ अर्धशतकसहित पाँच हजार ५७ रन बनाउनुभएको छ । तीव्र गतिमा बलिङ गर्ने उहाँले प्रथम श्रेणीमा ३९५ र लिष्ट एमा १७३ विकेट लिनुभएको छ ।

यस्तै, लुम्बिनीका अर्का विदेशी खेलाडी टेक्टर वर्तमान समयका आयरल्याण्डका प्रमुख ब्याटरमध्येका एक हुनुहुन्छ । २३ वर्षीय टेक्टरले २३ ओडिआई खेलमा दुई शतक र सात अर्धशतकसहित ८९३ रन बनाउनुभएको छ । यस्तै, ५१ टी-२० आई खेलमा ८३६ रन बनाउनुभएको छ ।
दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिका बलर शड्ली भान सेल्किकले ९७ प्रथम श्रेणी खेलमा २३९ विकेट लिनुका साथै २५ सय ९३ रन बनाउनुभएको छ । त्यस्तै, १ सय ११ लिष्ट एमा १ सय ४४ विकेट लिनुका साथै ९४६ रन बनाउनुभएको छ । सेल्किक तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्नुहुन्छ ।

नेपाल टी-२० क्रिकेट लिग डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

लुम्बिनीमा विदेशी खेलाडीका रूपमा लाहिरू मिलान्था, काल्भिन स्याभेज, विपुल शर्मा, प्याट ब्राउन, रहकिम कर्नवाल र हरमित सिंह रहनुभएको छ । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ ।

लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा रहनुभएको छ । दीपेन्द्रसँगै टोलीमा अनिलकुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र इशान पाण्डे हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?