पाका नागरिकहरू समस्या होइनन् बरू समाधान हुन्

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

हामी आफ्नै जन्मको विषयमा अज्ञान छौँ । जन्म हुन्छ वा हुँदैन यो सम्बन्धित व्यक्तिले जान्ने र थाह पाउने विषय होइन । तर, मानिस जन्मेपछि मर्छ यो शाश्वत सत्य हो । प्रत्येक प्राणी मर्न जन्मन्छ । कति बाँच्छ यो फेरि मानवमात्रको जीवनमा अत्यन्तै रहस्यमय विषय हो । मानिसले ज्ञानको क्षेत्रमा, विज्ञानको क्षेत्रमा चामत्कारिक विकास गरेका प्रमाणहरू हाम्रो अगाडि लथालिंग छन् । तर, त्यो चमत्कार गर्ने ज्ञानको खानीका रूपमा रहेका विद्वानलाई मात्रै होइन शरीर विज्ञानमा विद्यावारिधि गर्नेदेखि स्वास्थ क्षेत्रमा चमत्कार गर्नेहरूसम्मलाई आफ्नो आयुको विषयमा कुनै जानकारी हुन नसक्ने अर्को रहस्यको विषयलाई हाम्रो आधुनिक ज्ञान र विज्ञानले अझै चिर्न सकेको छैन ।

जन्मबारे र मृत्युको समयबारे बेखबर हुनुपर्ने बाध्यता र अज्ञानताभित्र हाम्रो जीवन कैदी बन्दी छ । एउटा कुरा निश्चित छ कि जन्मपछि मृत्यु अवश्यम्भावी छ । तर त्यसको तिथिमितिका विषयमा आधुनिक विज्ञान र वैज्ञानिकहरू अझैसम्म पूर्णतः अनभिज्ञ छन् । यही अज्ञानता र अनभिज्ञताभित्र मानिस बाँच्छ र आफ्नो आयुलाई कुर्दै जीवनलाई सुखी बनाउने क्रियाकलापमा सधैं कृत संकल्पित हुन्छ । मानिस बालकको रूपमा असहाय अवस्थामा जन्मन्छ । उसको लालनपालन गर्ने दायित्व अभिभावकहरूले निर्वाह गर्दछन् । ऊ कस्तो पारिवारिक परिवेशमा जन्मन्छ त्यहीअनुसारको लालन पालन शिक्षा प्राप्त गर्छ ।

हिजो ज्ञान विद्या प्राप्त हुने हुँदा पढेलेखेकाहरू ज्ञानी हुन्थे । मृत्युका विषयमा भविष्यवाणी गर्थे । ती भविष्य वाणी सत्य प्रमाणित हुन्थे भने अहिलेको आधुनिक विद्याले धन कमाउन सिकाउने भएकाले सबैको ध्यान र चिन्तन कसरी धनी हुने भन्ने विषयमा केन्द्रीकृत छ ।

जन्मका विषयमा र मृत्युका विषयमा अनभिज्ञहरू पढ्दै जाँदा कुनै विषयमा विज्ञता प्राप्त गर्दछन् । तर, ती विज्ञ र विशेषज्ञहरू आफ्नै विषयमा, आफ्नो स्वास्थको विषयमा र उमेरको विषयमा अनभिज्ञ हुनुपर्ने रहस्य र वास्तविकतालाई भने अनौठो नमान्दा हुन्छ । प्राचीन शिक्षाको अध्यनले मानिस ज्ञानी बन्दथ्यो । शिक्षाले उसलाई ज्ञान दिन्थ्यो । भनिन्छ प्राचीन विद्वानहरू कुनै कुनै त्रिकालदर्शी हुन्थे । अर्थात उनीहरूलाई भूत, भविष्य र वर्तमानको ज्ञान हुन्थ्यो । त्यस बखतको विद्या ज्ञान विद्या थियो भने अहिले विद्याले धन कमाउन मात्र सिकाउने भएकोले अहिलेको विद्यालाई धन विद्याभन्दा अत्युक्ति नहोला ।

हिजो ज्ञान विद्या प्राप्त हुने हुँदा पढेलेखेकाहरू ज्ञानी हुन्थे । मृत्युका विषयमा भविष्यवाणी गर्थे । ती भविष्य वाणी सत्य प्रमाणित हुन्थे भने अहिलेको आधुनिक विद्याले धन कमाउन सिकाउने भएकाले सबैको ध्यान र चिन्तन कसरी धनी हुने भन्ने विषयमा केन्द्रीकृत छ । यो मनोविज्ञानले नै होला सर्वत्र भ्रष्टाचारको चपेटामा देश छ । यहाँ केही जिम्मेवारहरूले भ्रष्टाचार र जीवनलाई पर्यायवाची बनाएका छन् ।
मानिसले अन्य विषयहरूमा धेरै जान्यो । अध्ययन र अनुसन्धान समेत गरेर विज्ञता तथा विशेषज्ञता हासिल गर्‍यो । तिनै विज्ञहरू पनि आफ्नो स्वास्थ रक्षा, हेरचाह तथा शरीरको सुरक्षा व्यवस्थाका सम्बन्धमा अनभिज्ञ हुने विषयलाई खासै अनौठो मानिँदैन । हामी अर्काको विषयमा जान्ने तर आफ्नो शरीर विज्ञानका सम्बन्धमा ज्ञान तथा जानकारी नहुने अवस्थालाई भने अनौठो तर सुधार गर्नुपर्ने विषयका रूपमा समाजले ग्रहण गर्नुपर्ने हुन्छ ।

रोग लागेर औषधि गर्नुभन्दा रोग लाग्न नदिनु निको भन्ने भनाइसँग हामी प्रायः सबै जानकार छौँ । तर त्यसलाई गहिरिएर बुझ्ने र ग्रहण गर्ने प्रयास नहँुदा हामी आफैँले रोगलाई निम्ता गर्ने गर्छौं र जीवनभर त्यसकै सिकार हुन बाध्य हुने अवस्थाबारे संवेदनशील बन्न किन सक्दैनौँ ? हामीले हाम्रो, चर्चा, बहस, छलफल, अन्तकृया, अध्ययन, अनुसन्धान आदिको विषय स्वास्थलाई बनाउनुपर्ने विषयलाई किन प्राथमिकतामा राखेनौ ? हाम्रा उपनिवेशहरूको उपदेश के छ भने हाम्रो शरीर रथ हो । शरीर व्यक्तिको वाहन हो जसले हामीलाई एक ठाउँबाट अर्को ठाउँमा जान सम्भव बनाउँछ । शरीरमा रोग, असक्तता जस्ता विषय प्रवेश भयो भने सबै क्रियाकलापमा रोकावट आउँछ ।

जीवन नै अस्तव्यस्त हुन्छ । भनिन्छ जहाँ ज्यान छ त्यहाँ जहान छन् । शरीर अस्वस्थ भयो भने शरीरको अवस्था गाडीको चक्का जाम जस्तै हुन्छ । आफैँलाई आफैँले असहाय भएको अनुभव गर्छ । आफूसँगै दुनियाँ पनि स्थिर भएको अनुभूति हुन्छ । हाम्रो शरीर कर्म र धर्मको साधन हो । शरीर स्वस्थ भएमात्र हामी आफ्नो सामाजिक, नैतिक, धार्मिक, पारिवारिक दायित्वलाई पूरा गर्न समर्थ हुन्छौँ । शारीरिक कष्टको स्थितिमा कुनै पनि काम गर्न सकिन्न । भगवानको भजन पनि हामी त्यतिबेला मात्रै गर्न सक्छौ जतिबेला हामी स्वस्थ हुन्छौँ । शरीर स्वस्थ रहन आवश्यक भएकाले मानव जातिले शरीर स्वस्थ राख्नका लागि सर्वप्रथम आहार-विहारसम्बधी अनुशासन र नियमलाई पालन गर्ने विषयमा एकले अर्कोलाई उत्साहित र प्रेरित गर्ने वातावरण निर्माण हुन नितान्त जरुरी हुन्छ ।

यस्ता विषयमा राज्य सहजकर्ता बन्नुपर्छ । पाका मानिसहरू सबैले विगतमा आआफ्नो क्षेत्रबाट राज्यलाई योगदान गरेका हुन्छन् । उनीहरूको उमेरसँगै शक्ति र आम्दानीका स्रोतहरू कम मात्रै होइन बन्द हुने विषय स्वाभाविक हुन्छ । यस्तो अवस्थामा पाका नागरिकहरूले उपचार नपाउने विषय पाका नागरिकप्रति अन्याय हो भने सरकारले आफ्नो अभिभावकीय दायित्व निर्वाह गर्न असफल भएको जबर्जस्त प्रमाण हो । राज्यले अन्य विषयहरूमा मितव्ययी बनेर पनि स्वास्थ र शिक्षा जस्ता क्षेत्रलाई गुणस्तरीय र निःशुल्क गर्ने काम गर्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष नै नागरिकलाई गुणस्तरीय स्वास्थ सुविधा र गुणस्तरीय शिक्षाको सुनिस्चितता हो ।

लोकतान्त्रिक शासन भन्ने जनतालाई स्वास्थ र शिक्षा जस्ता विषयहरू गुणस्तरीय उपलब्ध गराउन नसक्नु भनेको लोकतन्त्र शब्दको बदनाम हो । लोकतान्त्रिक नेतृत्वको प्रतिष्ठाको लिलामी हो । लोकतन्त्रलाई व्यवहारमा अनुवाद गर्ने मुख्य शर्त नै गुणस्तरीय स्वास्थ र शिक्षाको सुनिस्चितता हो । जब देशमा गुणस्तरीय स्वास्थ सुविधा र गुणस्तरीय शिक्षाको सुप्रबन्ध हुन्छ त्यो सरकारले मात्र आफूलाई लोकतान्त्रिक सरकार भन्ने हक हुन्छ । यो शर्तका हिसाबले नेपालको शासन व्यवस्था लोकतान्त्रिक नभएको प्रमाणित हुन्छ । जब स्वास्थको प्रबन्ध निःशुल्क र गुणस्तरीय हुन्छ त्यो अवस्थामा पाका नागरिकहरूले स्वास्थ सुविधाका लागि आफ्नो खल्तीमा भरपर्नु पर्दैन । आश्रित भएको अनुभव गर्नुपर्दैन ।

गुणस्तरीय स्वास्थ र शिक्षाको सुनिश्चितताको अवस्थामा मानिसले अवैध धनार्जन र अनावश्यक धन संकलन समेतको आवश्यकता हुन्न । खासगरी भ्रष्टाचारको न्यूनीकरणमात्रै होइन भ्रष्टाचारको उन्मूलनको न्यूतम शर्त पनि हो गुणस्तरीय स्वास्थ र शिक्षाको सुनिस्चितता । नागरिकलाई गुणस्तरीय स्वास्थ र शिक्षाको व्यवस्था भनेको नागरिकको भाग्यको उदय हो भने भ्रष्टाचाररूपी दीर्घ रोगको अचुक औषधि पनि हो । भ्रष्टाचार नियन्त्रणसम्बन्धी चर्का भाषण गर्ने र आफू भ्रष्टाचारमा लिप्त नेताहरूले अहिलेसम्म भ्रष्टाचार नियन्त्रणका उपायहरू बारे गृहकार्य नै गरेका छैनन् बरू उनीहरूको क्रियाशीलता भ्रष्टाचार गर्न नै केन्द्रीकृत भएकोले हाम्रो राजनीति काशी जान अझै कूतीतिर लागेको हुनाले वर्तमान नेतृत्व र राजनीतिक संरचनाले नागरिकको अवस्था फेरिने र भ्रष्टाचार नियन्त्रणका सम्भावनाहरू अझै शून्य प्रायः हुने स्थिति नागरिक र देशको दुर्भाग्य हो ।

जीवन जिउन, जीवनको अनुभव र जीवन जिउने कला र शिक्षा अत्यन्तै महत्वपूर्ण विषय मानिन्छ । यस विषयको अध्ययनका लागि पाका नागरिकहरूको अनुभव, ज्ञान, भोगाइको निष्कर्षभन्दा राम्रो पुस्तक अरू कुनै हुनै सक्दैनन् र छैनन् पनि । जहिले जहाँ पनि पाका नागरिकहरू भेट भए भने भलै उनीहरू निरक्षर नै किन नहुन उनीहरूलाई दिलबाट नै पढ्ने कोसिस गरौँ । संसारको कुनै पनि पुस्तकमा पढ्न नपाइने सामग्री र विषयवस्तु ती पाका नागरिकरूपी पुस्तकमा पाइन्छ । ती दुर्लभ र महत्वपूर्ण जीवित पाका नागरिकरूपी पुस्तकहरूको अध्ययनले जीवनलाई सफल र आदर्श बनाउँछ ।

राम्रो संस्कार, आचरण, सदाचार, अनुशासन, जीवनका अमूल्य नियम जस्ता जीवनका लागि अत्यन्तै उपयोगी वस्तुहरू प्राप्त गर्ने भरपर्दो स्रोत नै पाका नागरिकहरू हुन् । तिनीहरूको बेवास्ता, अवहेलना, तिरस्कार आदिले ती महत्वपूर्ण पुस्तक पढ्ने अवसरहरूबाट वञ्चित हुने अवस्था भनेको देशको नै दुर्भाग्य हो । वृद्धावस्था जीवधारीहरू सबैले भोग्नुपर्ने अनिवार्य शर्त हो । आजका युवाहरूले पनि समयको चक्रसँगै वृद्धवस्था हुँदै गुज्रनु अनिवार्य हुन्छ । जन्मेपछि आयुले साथ दिएमा वृद्धावस्था सबैले भोग्नुपर्छ । भनिन्छ वृद्धहरूको सेवाले प्रतिष्ठा, आयु, विद्या, बुद्धि र बलसमेत बढ्छ । समस्यामा पर्दा भगवान श्रीरामचन्द्रजीले पनि वृद्ध जामवतसँग सल्लाह लिएका थिए । पाका नागरिकले केवल मार्गनिर्देशन मात्रै गर्दैनन् नयाँ उपायहरू, सुझावसमेत दिने विशिष्ट क्षमता राख्छन् ।

वृद्धहरूप्रति युवाहरूको दायित्व र कर्तव्य साथै धर्म के हो यस्ता विषयहरू छलफल, अन्तक्र्रिया, बहस, विचारको आदानप्रदान, अध्ययन र अनुसन्धान समेतको विषय बनाउन जरुरी हुन्छ । समाजमा पाका नागरिकहरूसँग हुने दुव्र्यवहारका विरुद्धमा आवाज उठाउन युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । आखिर सबै युवाहरूले भोलि वृद्ध हुनुपर्छ भन्ने विषयमा सचेतना जगाउने अत्यन्तै आवश्यक विषय हो । पाका नागरिकहरूको समस्याहरूलाई एक व्यक्ति विशेषको समस्याको रूपमा भन्दा सामाजिक समस्याको रूपमा बुझ्नुपर्छ ।

यो ज्ञान, चेतना, विवेकको विकास युवाहरूमा हुन जरुरी छ किनकि एक दिन हामी सबै पाका नागरिक हुनुपर्ने वास्तविकता र यथार्थलाई हृदयबाटै बुझ्ने कोसिस भयो भने अहिले देखिएको पाका नागरिकहरूका समस्याहरू घर, परिवार र राष्ट्रले बुझ्ने वातावरण बन्छ । पाका नागरिकहरूले देशको आर्थिक, सामाजिक र संस्कृतिक विकासमा व्यापक योगदान गर्ने सम्भावनाहरूलाई परिवार, समाज र राष्ट्रले भरपुर दोहन गर्न सक्नुपर्छ । ती पाका नागरिकहरूको क्षमता र योग्यतालाई समयमा नै प्रयोग हुन नसके नदीको पानी जस्तै बग्छ अर्थात् नाश हुन्छ । गंगाधर तिलकको आदर्श वाक्यांश हो तिमीले कहिले र के काम गर्नुपर्छ ।

वृद्धहरूप्रति युवाहरूको दायित्व र कर्तव्य साथै धर्म के हो यस्ता विषय छलफल, अन्तक्र्रिया, बहस, विचारको आदानप्रदान, अध्ययन र अनुसन्धान समेतको विषय बनाउन जरुरी हुन्छ । समाजमा पाका नागरिकसँग हुने दुव्र्यवहारका विरुद्धमा आवाज उठाउन युवालाई प्रोत्साहित गर्नुपर्छ ।

अनुभवले मात्रै बताउँछ भन्दै पाकाहरूको महत्वलाई दर्शाएका थिए । पाका नागरिक भन्ने बित्तिकै उमेर, विचार, अनुभव, ज्ञान, भोगाइ समेतबाट परिपक्व व्यक्तिको छवि वा आकृति अगाडि आउँछ । पाका नागरिकहरूबाट जीवन पथको कठिन यात्रमा उचित दिशानिर्देश गर्ने क्षमता राख्छन् । एक समय थियो पाका नागरिकहरू परिवारको बोझ नभएर मार्ग दर्शक मानिन्थ्यो । त्यसैले त्यस बखत पाका नागरिकअरू धरको छतसँग तुलाना हुन्थे । जसका आश्रयमा परिवारका सबै सदस्यहरू सुरक्षा अनुभव गर्थे । तर, आज त्यही छत आफ्नो सुरक्षाको खोजीमा तड्पेको छ । खलबलिएको संयुक्त परिवार प्रथा, बढ्दो निजी स्वार्थको भावना, नैतिक र सामाजिक जिम्मेवारीको अवमूल्यन र स्खलन जस्ता विविध कारण र प्रभावहरूले अहिले पाका नागरिकहरूलाई परिवारमा अहं स्थान प्राप्त छैन जो हिजो वास्तवमा आधिकारिक हकदार हुन्थे ।

आधुनिक जीवनशैली, पिँढीगत विचारको भिन्नता जस्ता कारणहरूले आज युवा पिँढी निष्ठर र कर्तव्यहीन हँुदा त्यसको सजाय पाका नागरिकहरूले भोग्नु परेको छ । गुणले रूपको शोभा बढाउँछ, शील स्वभाव वा उत्तम आचरणले कुलको शोभा बढाउँछ, सफलताले विद्याको शोभा बढाउँछ र उचित भोग र उपयोगले धनको शोभा बढाउँछ जस्ता आदर्श वाक्यहरू हाम्रो शिक्षाको पाठ्यक्रमबाट हटाउँदा विविध समस्याहरू आएका छन त्यसमा पुनर्विचार गर्दै पुनःस्थापना गर्ने दिशातिर अग्रसर नहुँदासम्म हाम्रा समस्याहरूको स्थायी निकास सम्भव छैन । समग्रमा पाका नागरिक समस्या होइनन् समाधान हुन भन्ने मर्म परिवार, समाज र राष्ट्रले आत्मसात गर्नुपर्छ ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गोविन्द विनोदी
गोविन्द विनोदी
2022-12-20 9:20 am

ज्यादै चित्तबुझ्दो समसामयिक लेख । नमस्कार देवी सर ! तपाईंका सबै आर्टिकल पठनीय एवं मननीय छन् ।

Cholendra pandit
Cholendra pandit
2023-01-03 11:29 am

पाका नागरिकले हजुरबालाई र वहाँका बाणी स्मरण गरायो।

Last edited 1 year ago by Cholendra pandit

रिलेटेड न्युज

छुटाउनुभयो कि ?