पुस्तक : पारमिताको कथा

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ गोविन्द पौडेल

दोस्ती रेग्मी नाम गरेका नयाँ तर निकै सम्भावनाशील उपन्यासकारको ‘पारमिता’ उपन्यासको परिभ्रमण प्रायः रुचिकर नै लाग्यो । प्रस्तुत उपन्यासमा मान्छेका मनभित्रका वेदना र उकुसमुकुसलाई नियात्रा, कथा, संस्मरण, सम्झना आदिको फ्ल्यासब्याक शैलीमा झन्नै प्रयोगधर्मी औपन्यासिक कथ्यमा बुनिएको छ भन्दा अत्युक्ति नहोला ।

दुव्र्यसनका कथा सिनेमा र रङ्गमञ्चमा धेरैपटक हेरिएका छन् । कथा साझा हुन सक्छन् अपितु तिनको संरचना र प्रस्तुुति रहेछन् भिन्नता र मिठास दिने । छोटा कथाका शीर्षक राखेर प्रत्येक कथामा आफैँ परिपूर्ण प्लट बोक्न योग्य बनेका अनि मूल कथ्यको प्राण पनि धान्न खोजिरहेका यी सूक्ष्म तर भिटामिन जस्ता प्राणरक्षक उपकथाहरूको बान्की र बुनोटले उपन्यास वस्तुतः अल्ट्रा मोडन ढाँचामा तयार भएका मान्न सकिन्छ ।

पारमिताजस्ता उपन्यास पढिरहँदा हामीले हाम्रा क्लासिकल उपन्यासको वर्णनात्मक शैली र संरचनाबाहिर पनि अनुपम कथा सिर्जना गर्न सक्ने लेखकहरू तयार पर्न सकेछौँ भन्ने आनन्दानुभूति हुने रहेछ । अति जटिल कथ्य, घटनाप्रधानता र रहस्यमयी पात्र अनि परिधानबाट मुक्त सामान्य तर विशेष, हल्का तर गम्भीर प्रकृतिको उपन्यास बनेको छ पारमिता ।

उपन्यासको प्रारम्भले दार्जिलिङका लोकप्रिय उपन्यासकार प्रकाश कोविदको सम्झना गराउँछ । बैँसालु युवा युवतीको युवा सुलभ प्रेमाकर्षणको प्रसङ्गले । उपन्यासको प्रमुख पात्र अनुघ जीवनका अनेक आरोहअवरोहका यात्रा गरिरहन्छ । जीवनमा प्रेम पाउनु र सुखानुभूतिमा रमाउनु उसका युवा सुलभ इच्छाहरू हुन्छन् । विपरीत लिङ्गीप्रतिको आकर्षक र प्रेम निवेदन उमेर अनुसारका नितान्त प्राकृतिक कुरा हुन् परन्तु नारायण गोपालको गीतले भने झैँ एउटा मान्छेको मायाले कसैको जीवनमा धेरै प्रभाव पारेको हुने रहेछ ।

मानिस केले बाँच्दछ्न् भन्ने लियो टल्सटयको प्रसिद्ध कथामा मानिस आमाबुबा विना पनि बाँचेका हुन्छन् तर प्रेमबिना कोही बाँच्न सक्दैनन् भन्ने सन्देश पाइन्छ । पारमिताको मुख्य पात्र अनघ, प्रियदर्शिनी, सुप्रिया आदि प्रेम, निराशा, अवसाद, विषाद अनि अन्त्यमा जीवनको सकारात्मकता र मिठासका वरिपरि फन्को मारिरहन्छन् । अहिलेको समयमा स्कुले युवाहरूको मुख्य समस्या लागू पदार्थको दुव्र्यसनमा फस्नु हो । सिर्जना, साहस, खोज र कर्ममा रमाउनुपर्ने सबभन्दा स्वर्णीम समय त युवायुवतीहरू ख्यालख्यालैमा एडिक्सनको गौरवगाथामा लागिरहेका छन् अनि आफू र आफ्नो परिवेश नै विषाक्त बनाइरहेका छन् ।

अनुघ एडिक्टेड बन्न त पुग्छ किन्तु ऊ त्यस्तो हुनुका टड्कारो कारण फेला पार्न हामीलाई अलिक असजिलो भएझैं लाग्छ । उपन्यासमा धेरै पात्रहरू छैनन्, घटनाहरू एक आपसमा धेरै जेलिएका पनि छैनन् । आरम्भमा एउटा साधारण प्रेम कथा पढिरहेको भान पर्ने पठनयात्रा केही छिनपछि संसार, मन, दुःख, खुशी, समाधी, मोक्ष, योग र ब्रहृमाण्डतिर लाग्छ । संवादहरू जिउँदा छन् । मेटाफोरिकल छन् । रङ्गीन छन् । छिर्बिरे छन् । रमरम बौद्धिकता र निर्वाणका बुद्धदर्शन पटक पटक छिरोलिएका छन् तर ती नदीजस्तै बगेका छन् र बुद्ध दर्शनको शीतलता छरेका छन् । नैराश्यले गलेको हाम्रो मन यी संवादहरूको गरिमाले स्वतन्त्रताको गगन चुम्न पुग्छ ।

प्रियदर्शिनीको प्रेम समर्पणका निम्ति आफूलाई सुपात्रका रूपमा स्वीकार्न नसकेको अनघ ओभर डोज एडिक्सनले आफ्ना चेतनाका सबै तन्तृकाहरू ध्वस्त पारेर जिउँदो लाससम्म बन्न पुगे पनि आफ्नो कठोर प्रतिज्ञा र आत्मबलका भरमा आफूलाई आध्यात्मिक यात्रातर्फ लैजान्छ । पटकपटक गलत यात्राको बाटामा लाग्दालाग्दै पनि अनघ आफूलाई समाल्छ र जीवन र जगत्लाई हेर्ने मनोदशा बदल्छ । अनि आफूलाई सपार्नतिर लाग्छ ।

यसैबीचमा सुप्रिया भन्ने अनघकी बालसखा पनि अनघ जस्तै कडा मानसिक विषादमा परेकी हुन्छे । सधैँ एउटै मनोदशामात्र लिएर जीवनको सबभन्दा अँध्यारो र बिकामे पाटोमात्र हेरिरहने हाम्रो मन नै हाम्रा सारा विकारहरूको स्रोत हो भन्ने बुझेपछि सुप्रिया पनि जीवनका अलिक उज्याला पाटाहरू पनि हेर्न थाल्छे । जीवनमा जागरणका निम्ति, सकारात्मकताका निम्ति, सुख र शान्तिका निम्ति हामीले हाम्रो सोचको दिशा बदल्नु जरुरी छ भन्ने आशय पारमिताले बोकेको देखिन्छ ।

सुपृयाको जन्मदिन भव्यतापूर्वक मनाइसकेपछि अनघ र सुप्रिया एक अर्कालाई बेस्सरी माया गर्न थाल्छन् । यद्यपि कथामा यसलाई प्रतीकात्मक ढङ्गबाट देखाइएको छ । आफूले औधी प्रेम गरेकी प्रियदर्शिनीको नाममा ट्याटु खोपेको अनघ त्यही ट्याटुमा सु भन्ने शब्द खोपाएर सुप्रिया बनाउँछ । आशा, सकारात्मकता, प्रेम, शून्यता र पारमिताको प्रकाश छर्दै उपन्यासको अन्त्य गरिएको छ । यसका बाबजुद कताकता उपन्यासको फिल्मीकरण पो भएको हो कि भन्ने पनि पाठकलाई लाग्न सक्छ । लेखकलाई आफ्नो औपन्यासिक कला अझ निखार्न र दृश्यहरूलाई जीवन्त बनाउन सल्लाह दिन सकिन्छ । पारमिता पठनीय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?