‘एनआरएनएको पहलले बल्ल सार्थकता पायो’

Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष रविना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी एक दशकअघिदेखि संघले गर्दै आएको पहलले सार्थकता पाएको बताउनुभएको छ । कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले एनआरएनएले निरन्तर नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मूर्तरूप लिएको बताउनुभएको हो । आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो कदम प्रभावकारी हुने उहाँको भनाइ छ ।

एनआरएनएले सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि कोषमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले विदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघकै तर्फबाट पटक-पटक कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन सरकारले गरेको महसुस हामीले गरेका छौँ ।’

हाल वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकका रूपमा स्थापित गर्न सरकारसँग संघले सहकार्यसमेत गरिरहेको भन्दै थापाले आगामी दिनमा पनि र समन्वय र सहकार्य जारी रहने बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आबद्ध हुन आहृवान गर्नुभयो । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर सहकार्य र पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको एनआरएनएले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?