प्रदेशसभा सदस्यको शपथग्रहण अर्को साता

हिमालय टाइम्स
Read Time = 3 mins

यज्ञराज जोशी/हिटा
धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथग्रहण अर्को साता मात्रै हुने भएको छ । प्रदेशसभा सचिवालयले पुस १५ गतेभित्र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने योजनाअनुरूप कार्य अघि बढिरहेको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार संघीय राजनीतिक समीकरणको पर्खाइ तथा केही प्रदेशसभा सदस्यहरू काठमाडौंमै रहेकाले तत्काल मिति तोक्न सकिएको छैन । ‘यसअघि पुस ११ गतेलाई शपथग्रहण गराउने मिति छलफल भएको थियो,’ बोगटीले भन्नुभयो, ‘तर, नवनिर्वाचित प्रदेशसभा सदस्यहरू संघीय राजधानी काठमाडौंमै भएकाले केही दिन लम्ब्याउनु परेको छ । हामीले पुस १५ गतेभित्र शपथ गराउने भनेर प्रदेश प्रमुखसँग छलफल गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरी ५३ सांसद रहेका छन् । ज्येष्ठ सांसद मानबहादुर रावलले उहाँहरूलाई शपथग्रहण गराउनुहुनेछ । ६८ वर्षीय रावल नेपाली कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित हुनुभएको हो । त्यसअघि उहाँलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराउनु हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार शपथग्रहणपश्चात् प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ नागरिकले सञ्चालन गर्नेछन् । पुस १८ गते पहिलो बैठक आहृवान गर्ने तयारी सचिवालयले गरिरहेको छ । संविधानको धारा १७९ अनुसार प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले शपथग्रहण गराउने कार्यक्रममा निर्वाचन आयोगबाट प्रदान गरिएको प्रदेशसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोसहित प्रदेशसभा सचिवालयमा उपस्थित हुनुपर्छ ।

सचिवालयले प्रदेशसभाको भवनलाई पनि तयारी अवस्थामा राखेको छ । बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइक पुनः जडान गरिएको छ । प्रदेशसभामा हरेक सदस्यका लागि छुट्टाछुट्टै टेबुलको व्यवस्था पनि गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)को सहयोगमा संसद् भवनको आवश्यक मर्मतसम्भार गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?