दलित समुदायका लागि उदाहरणीय पात्र शेरबहादुर विश्वकर्मा

जिल्ला समन्वय समिति सदस्य शेरबहादुर विश्वकर्मा । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । दलित समुदायका लागि शेरबहादुर विश्वकर्मा उदाहरणीय पात्र बन्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-२ निवासी विश्वकर्मा उमेरले ४४ वर्ष पुग्नुभयो । विश्वकर्माले जीवनको अधिकांश समय नेपाली सेनामा ब्यतित गर्नुभयो । दलित समुदायमा जन्मिएर तत्कालीन शाहीसेना हुँदै अहिले जनप्रतिनिधि समेत हुनुभयो ।

विश्वकर्माले जीवनको १८ वर्ष नेपाली सेनामा बिताउनुभयो । तत्कालीन समयमा शाही सेना भन्ने गरिन्थ्यो । २०५५ सालमा तत्कालीन शाही सेनामा प्रवेश गरी राष्ट्रको सेवामा समर्पित हुनुभयो । नेपाली सेनामा सेवारत रहदा विश्वकर्मा बाग्लुङ्ग, पोखरा, मुस्ताङ्ग, सुर्खेत, बुटवल लगायतका क्षेत्रमा पुग्नुभयो । उहाँ शान्ती सेना बनेर हाइटी समेत पुग्नुभयो ।

अन्ततः १८ वर्षको सेवा अवधिपछि उहाँ निवृत्त हुनुभयो । नेपाली सेनामा सेवारत रहँदा आफुले प्राप्त गरेको ज्ञान, सीप र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले विश्वकर्मा राजनीतिमा प्रवेश गर्नुभयो । नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय हुनुभएका विश्वकर्मा ०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभयो । नेपाली सेनामा सेवारत रहँदा प्राप्त गरेको शिक्षा र हौसलाले आफु राजनीतिमा सक्रिय भएको उहाँले बताउनुभयो । “नेपाली सेनामा सेवारत रहँदा बर्दीसहितको सिपाही थिएँ ।” विश्वकर्माले भन्नुभयो,-“अहिले बर्दी बिनाको राष्ट्रसेवक हुँ ।” शेरबहादुर अहिले जिल्ला समन्वय समितिको सदस्य समेत हुनुहुन्छ ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएपनि आफू सबैको साझा जनप्रतिनिधि भएर काम गरेको विश्वकर्माको भनाई छ । “राज्यबाट प्राप्त हुने सेवा-सुविधा समान रुपमा सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता छ । सबै वर्गलाई समावेश गरेर अगाडी बढ्नुपर्छ ।” विश्वकर्माले भन्नुभयो,-“दलितका विविध समस्याका विषयमा वकालत गरें । यसरी वकालत गर्दा केही बाधा अवरोधहरु पनि आए । केही आक्षेप पनि लागे ।”

तत्कालीन समयमा जातीय विभेदका विरुद्धमा आफू नेपाली सेनामा सेवारत रहँदा पनि वकालत गर्ने गरेको बताउनुभयो । दलित समुदायमा जन्मिएर विभिन्न क्षेत्रको जिम्मेवारी समाली रहँदा निकै चुनौती भोग्नु परेको समेत उहाँले स्मरण गर्नुभयो । “धर्मले कहीँ कतै छुवाछुत गर्नुपर्छ भनेर भनेको छैन् । छुवाछुत मान्छेले नै जबरजस्त लादेको हो ।” विश्वकर्माले भन्नुभयो,-“संविधानले उन्मुलन गरी सकेको जातीय छुवाछुत अब हरेक नागरिकले कर्म र व्यवहारले पनि हटाउन लाग्नुपर्छ । हामी सबै नेपाली हौं । सभ्य नागरिकको परिचय दिन पनि कुसंस्कारहरुलाई हटाउँदै जानुपर्छ ।” राज्यले उपलब्ध गराउने अवसर र अधिकारका माध्यबाट दलित समुदायलाई पनि नेतृत्वमा लैजानुपर्ने विश्वकर्माको भनाई छ ।

दलित समुदायले परम्परा देखि गर्दै आएका पेशा-व्यवसायलाई समयानुकुल परिवर्तन गरी आधुनिकिरण गरी उद्योगको रुपमा विकास गर्नेतर्फ राज्य लाग्नुपर्ने विश्वकर्माको भनाई छ । स्थानीय तहसँग जनताका धेरै अपेक्षा हुने गरेको समेत उहाँले स्मरण गर्नुभयो । कार्यवाहक वडाअध्यक्ष समेत हुनुभएका विश्वकर्माले जनप्रतिनिधिमा विकास गर्ने इच्छा शक्ति र विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गर्ने सकिए स्थानीय तह समृद्ध बन्ने अनुभव सुनाउनुभयो ।

“सामाजिक क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेर राजनीतिमा लागें । पाटीले पनि विश्वास गर्यो । केही गर्ने अवसर पनि प्राप्त गरें ।” विश्वकर्माले भन्नुभयो,-“विकासका कामहरु सञ्चालन गर्ने सन्दर्भमा मुद्धा समेत खानु पर्यो।” तर पनि विकासका काममा जनताको मन जित्न सफल भएको विश्वकर्माको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?