२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन् । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए ।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन् । मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा‍ सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि र  जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा, माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले हिन्दी भाषामा शपथको लागि निवेदन दिएका छन् ।

यता, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो. सि. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिनेछन् । जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले मैथिली भाषामा सांसदको शपथ लिनेछन् ।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् । तामाङ भाषामा शपथको लागि निवेदन दिनेहरूमा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम/नेपाली भाषामा , लक्ष्मी तिवारीले अवधि भाषामा शपथका लागि निवेदन दिएका छन् ।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा, एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिने भएका छन् । सांसद दुर्गा राईले कोईरकोयू भाषामा, स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिँदैछन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनबाट विजयी भएका सांसदहरूलाई आज १ बजे बानेश्वरस्थित संसद भवनमा सपथ गराइदै छ । संसदमा रहनु भएका सबैभन्दा जेष्ठ सांसद पशुपति शमशेर जबराले सपथ गराउँनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?