लोप हुँदै ढिकी जाँतो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । केही बर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ,बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो ।

विशेषगरी पूजाआजामा चढाउनका लागि चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गर्नुहुन्थ्यो । तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पिठो पिस्नका लागि मिलहरु स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगी बताउनुहुन्छ । ‘पहिले घरमै कुट्नलाई ढिकी र पिठो पिस्नलाई जाँतो थियो । तर अहिले छैनन्’,उहाँले भन्नुभयो्,‘अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्राय काम मिलमै गर्ने गरेका छौ ।’ आफ्नो घरसँगै गाउँका प्रत्यक जसो घरहरुमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँ बताउनुहुन्छ ।

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेपछि अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तिखर्क निवासी खिमा घर्तीमगर बताउनुहुन्छ । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँहरुमा अहिलेपनि ढिकी तथा जाँताको प्रयोग हुने गरेपनि विद्युत पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगर बताउनुहुन्छ । ‘पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो’,घर्तीमगरले भन्नुभयो्, ‘ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।’ सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पु-याएको स्थानीय बताउँछन् ।

परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक बस्तुहरु कुटाउन तथा पिस्नका लागि काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगर बताउनुहुन्छ । ढिकी र जाँतोमा नकुटी नहुँने बेसार, गहुँ, जौसँगै चिउरीको तेल पेल्नका लागि बिजुला कुट्नका लागि पछिल्लो समय गाउँघरमा कहिकतै मात्रै ढिकी देखिने गरेको उहाँको भनाई छ । ‘मानिसहरुले काममा सहजता खोज्दै जदा हाम्रा परम्परागत सामग्री ढिकी। जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्’,उहाँले भन्नुभयोे,‘ यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।’

गाउँगाउँमा विद्युत पुगेसँगै जिल्लाका अधिकांस ठाउँमा विद्युतबाट चल्ने मिल राखेर धान कुटानी,तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रुपमा चल्दै आएका ढिकी तथा जाँतो हराउन थालेका हुन । गाउँघरमा रहेका ढिकी तथा जाँतोलाई संरक्षण गर्न सके परम्परागत रुपमा रहेका सामग्रीको संरक्षणसँगै आर्थिक रुपमा बचत र पोषणयुक्त खाद्यान्न उपभोग गर्न मिल्ने स्थानीय बताउँछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?