अन्ततः आजबाट नेपाल टी-२० लिग, विजेतालाई ५५ लाख

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । अनेक उतारचढाव र तीनपल्ट स्थगित भइसकेको बहुप्रतिक्षित नेपाल टी-२० क्रिकेट लिग आज (शनिबार)बाट सुरु हुँदैछ । पहिलोपटक डबल राउण्ड रोबिन लिगका आधारमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् । यसअघि नेपालमा निजी स्तरबाट तीनवटा फ्रेन्चाइजी क्रिकेट लिग हुनेगर्थे । तर, निलम्बन फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक लिगका रूपमा नेपाल टी-२० क्रिकेट लिगलाई अघि सारेको हो । प्रतियोगितामा ६ शहरका ६ टोली भिड्दैछन् ।
विजेता टोलीले ५५ लाख प्राप्त गर्ने आयोजक क्यानले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरेको छ । नेपाली क्रिकेटमा यो विजेताले पाउन लागेको अहिलेसम्मकै उच्च पुरस्कार हो । यस्तै, उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख तथा प्रतियोगिताका उत्कृष्ट ब्याटर र बलरले समान दुई लाख ५० हजार प्राप्त गर्नेन् । हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेष्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागिता छ । कुल ३४ खेल हुनेछन् । सबै टोलीले खेलाडी ड्राफ्टबाट लिइसकेका छन् । विदेशी खेलाडी पनि भिœयाइसकेका छन् ।

भारतको सेभेन थ्री स्टार कम्पनीले व्यवस्थापन गर्ने लिगमा पोखराबाहेक अन्य सबै टोलीमा विदेशी लगानी रहेको छ । लुम्बिनीको सञ्चालकमा सञ्जय शर्मा रहनुभएको छ । अमेरिकामा अवस्थित नेपालीहरूको अल स्टार्स टोलीले लुम्बिनी क्लबको स्वामित्व लिएको हो । यस्तै, भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्नेछ । यस्तै विराटनगर सुपर किंग्सलाई भारतको डायमन्ड डिजी क्यापले खरिद गरेको छ । विराटनगरको मालिकमा विक्रम यादव र जनकपुरका गौरीशंकर धामनी रहनुभएको छ । काठमाडौं र फारवेष्टमा पनि भारतीय लगानीकर्ता हुनुहुन्छ ।

प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउनेछन् । त्यसबाहेक विदेशी खेलाडीलाई उनीहरूको सम्झौताअनुसारको रकम मिल्नेछ ।

दुई साताअघि आबद्ध टोली काठमाडौं गोर्खाजले प्रतियोगिताबाट हात झिकेपछि लिग नै अन्यौलमा परेको थियो । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले लिगमा कानुनी उल्झन रहेको भन्दै नाम फिर्ता लिएको थियो । त्यसको ठाउँमा क्यानले नयाँ व्यवस्थापनसँगै काठमाडौं नाइट्स टोलीको घोषणा गरेपछि प्रतियोगिता सञ्चालनमा आउने भएको हो ।

यसअघि काठमाडौंमा हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपिएल) ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुनविपरीत रहेको र यो प्रक्रिया पारदर्शी नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उसले भारतीय कम्पनीलाई विना प्रतिस्पर्धा आयोजनाको अधिकार दिने निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) गर्न मागसमेत गरेको छ । क्यानले विना खुला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० लिग आयोजना अधिकार आठ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

काठमाडौंको विदेशी खेलाडीमा वीरनदीप सिंह, रायन वर्ल, अजमतुल्लाह उमरजाई र एलेक्स बाल्की हुनुहुन्छ । यस्तै, नेपाली खेलाडीमा ज्ञानेन्द्र मल्ल, अनिल खरेल, गौतम केसी, कमलसिंह ऐरी, बासिर अहमद, अविनाश बोहोरा, सन्दीप रजाली, सन्तोष कार्की, सौरभ खनाल, लोकेश बम र सुनम गौतम हुनुहुन्छ ।

यस्तै, पोखरा एभेन्जर्समा विदेशी खेलाडीका रूपमा श्रीलंकन उपल थरंगा हुनुहुन्छ । त्यसबाहेक टोलीमा शरद भेषवाकर पोखराको मार्की खेलाडीका रूपमा रहनुभएको छ । पोखरामा भेषवाकरको अलावा आसिफ शेख, प्रतिश जिशी, सिद्धान्त लोहनी, कृष्ण कार्की, मौषम ढकाल, विपिन खत्री, तुलबहादुर थापा, सुमित महर्जन, विशाल विक्रम केसी, आरिफ शेख, कुशल मल्ललगायत नेपाली खेलाडी हुनुहुन्छ ।

विराटनगरको टोलीमा विदेशी खेलाडीका रूपमा सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहनुभएको छ । यस्तै, नेपाली खेलाडीमा रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप सिंह ऐरी, पृथु बाँस्कोटा, रिजन ढकाल हुनुहुन्छ ।

जनकपुर रोयल्समा जमैकाका ओपनर ट्रेभोन ग्रिफिथसहित १७ सदस्यीय टोली छ । जनकपुरको मार्की खेलाडी सोमपाल कामी र प्रशिक्षकमा भारतका उमेश पटवाल हुनुहुन्छ । जनकपुरको टोलीमा केसरिक विलियम्स, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ, शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, अशान प्रियान्जन विदेशी खेलाडी र सोमपाल कामी, सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललितनारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी स्वदेशी खेलाडीका रूपमा हुनुहुन्छ ।

यस्तै, लुम्बिनीले यसअघि नै १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । घोषित टोलीमा ११ नेपाली तथा सात विदेशी खेलाडी रहनुभएको छ । दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की तथा कप्तान हुनुहुन्छ । लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल, सागर ढकाल, अनिलकुमार शाह, गुल्सनकुमार झा, किशोर महतो, तिलकराज भण्डारी, योगेन्द्रसिंह कार्की, सुनिल धमला, इशान पाण्डे तथा आकाश चन्दलगायत नेपाली खेलाडी रहनुभएको छ ।

यस्तै, विदेशी खेलाडीका रूपमा भारतका हरमित सिंह, विपुल शर्मा र उन्मुक्त चन्द तथा श्रीलंकाका लाहिरू मिलान्था रहनुभएको छ । त्यसबाहेक दक्षिण अफ्रिकाका क्लाउड भान शाल्विक र आयरल्याण्डका हृयारी टेक्टर तथा इंग्ल्याण्डका प्याट ब्रोन विदेशी खेलाडी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?