जनमत नयाँ, शैली पुरानै : आगामी सरकार चुनौतीको चाङमा

Read Time = 15 mins

✍️ अक्कल कुँवर

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले पाँच वर्षको लागि नयाँ जनमत पाएको छ । निर्वाचनबाट पुराना र स्थापित दलहरू नै अगाडि देखिए पनि नयाँ पार्टीहरूको उदयले मुलुकको राजनीतिमा स्पष्ट सन्देश भने दिएको छ । आम निर्वाचनको मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी, साना दल र स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण देखायो । पछिल्ला दशकहरूमा रजगज गर्दै आएका दल र नेताहरूको एकाधिकार तोडिने मात्र होइन,संसदीय शक्ति समीकरणका खेलाडी पनि थपिएसंगै मूलधारका दलहरू दबाबमा भने अवश्य परेका छन् ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा पाँच महिनाअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रूपमा बलिया उपस्थिति जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व नै गर्ने हैसियतमा नपुगेपनि संसदमा जबरजस्त उपस्थितिले पुराना दलहरूको मनपरि रोक्न प्रयाप्त हुने देखिन्छ । कुनै पनि दल र गठबन्धनको बहुमत नआएकाले यस्तो अवस्थामा स्वतन्त्र पार्टीको अडान अर्थपूर्ण हुने निश्चित छ ।

नयाँ शक्तिको उदय र दलहरूमाथि सिर्जित दबाब सकारात्मक भए पनि धेरै दलको गठबन्धन सरकार बन्ने भएकाले थप निराशा निम्तिने जोखिम पनि उत्तिकै छ । दल र नेताहरूको प्रवृत्तिविरूद्ध मतदाताले एक प्रकारले मौन विद्रोह नै गरेका हुन् ।

त्यस्तै, सिके राउत नेतृत्वको जनमत, रेशम चौधरी नेतृत्वको उन्मुक्ति पार्टीले पनि संसद्मा बलियो अवस्थामा देखिएका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले संसदमा जबरजस्त उपस्थिति देखाउने निश्चित छ । संसद् र सरकारमा पुरानै दल हाबी हुने देखिएपनि यो निर्वाचनको परिणामलाई मतदाताले दलहरूमा जबर्जस्त रूपान्तरण खोजेको रूपमा बुझ्न सकिन्छ । मतदाताले दलहरूलाई चेतावनी दिएका छन् । नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मतलाई पुराना दलहरूप्रति मतदाताको असन्तुष्टि स्पष्ट छ ।

हुन त निर्वाचनको परिणामप्रति राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भईरहेका छन् । कतिपय राजनीतिक क्षेत्रका जानकारहरू मतदाताले व्यवस्थाको विकल्प नखोजेको र पुराना दललाई खबरदारी गरेको विश्लेषण गरिरहेका छन् । दलहरूले शासन र संगठन बदल्नुपर्ने जनमतको सन्देश हो । पार्टी सञ्चालन विधि र शासन सञ्चालन शैली बदल्नुपर्ने अतिआवश्यक देखिएको छ । दलहरूमाथि राजनीतिक रूपमा भ्रष्ट भएको आरोप लागिरहेका बेला मुलुकको सुशासन स्थापना गर्न गम्भीर रूपमा लाग्नुपर्ने अवस्था आएको राजनीतिक दलकै नेताहरूको स्वीकारोक्ति छ ।

नयाँ शक्तिको उदय र दलहरूमाथि सिर्जित दबाब सकारात्मक भएपनि धेरै दलको गठबन्धन सरकार बन्ने भएकाले थप निराशा निम्तिने जोखिम पनि उत्तिकै छ । दल र नेताहरूको प्रवृत्तिविरूद्ध मतदाताले एक प्रकारले मौन विद्रोह नै गरेका हुन् । टिकट वितरणमा नेतृत्वको स्वच्छन्दतालाई मतदाताले स्थानीय तहको निर्वाचनमै विद्रोह गरेको तर त्यसलाई दलहरूले आत्मसात गर्न नसक्दा संसदीय निर्वाचनमा भने पुराना दलहरूलाई थप्पड नै हानेका छन् । हरेका पार्टी युवा पुस्ताको नेतृत्वमा जानुपर्ने अभिमत चुनावले व्यक्त गरेको छ । राष्ट्रिय राजनीतिमा एउटा नयाँ पार्टीको उदय हुन खोजिरहेको र नेपालको राजनीतिमा युवाले जबर्जस्त हस्तक्षेप गरेर कम्पन पैदा गरेका तथा मतदाताले सुशासन र आर्थिक समृद्धिका लागि पनि मतबाट प्रत्यक्ष हस्तक्षेप गरेका छन् ।

यो निर्वाचनबाट सधैँ सत्तास्वार्थमा केन्द्रित रहने कांग्रेस,एमाले र माओवादी केन्द्रमा कार्यशैली परिवर्तनका लागि दबाब सिर्जना भएको छ । तर, निर्वाचनले दिएको सन्देशविपरीत प्रमुख राजनीतिक दल र तिनका नेताको शैली फेरीपनि पुरानै देखिएको छ । दलहरूले पाएको मत र संविधानको व्यवस्थाअनुसार पनि आगामी सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ । सरकार गठनको लागि विगतमा जस्तै यसपटकपनि जायज÷नाजायज, राजनीतिक÷गैरराजनीतिक सबै हर्कत दोहोरिएका छन् । सरकार गठनका लागि दलैपिच्छेका सर्तहरूको पुनरावृत्ति भएका छन् । निर्वाचनबाट नयाँ जनमत आएपनि सरकार गठनको अलमल र खिचातानी भने निर्वाचन अघिकै जस्तो छ । सत्ता र शक्तिमा पुग्न दल र नेताहरूले विगतकै विकृत्ति दोहोर्‍याएका छन् ।

हुन त अहिले प्रकट भएको जनमत नेपालको संसदीय राजनीतिमा अनौठो भने होइन । २०४६ सालको राजनीतिक परिवर्तनयता जनमतले कुनै पनि दललाई निरन्तर पहिलो शक्ति बन्न दिएको छैन । २०४८ सालको आमनिर्वाचनमा बहुमत ल्याएको कांग्रेस २०५१ मा दोस्रो बन्यो । त्यतिबेला पहिलो दल बनेको एमालेलाई २०५६ को आम निर्वाचनमा कांग्रेसले उछिन्यो  । २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो शक्तिका रूपमा उदायो तर ६ वर्षपछिको अर्को संविधानसभा निर्वाचनमा ऊ तेस्रो भयो । त्यतिखेर पहिलो बनेको कांग्रेसलाई २०७४ को आम निर्वाचनमा एमालेले पछि पा¥यो । अहिले कांग्रेस पहिलो दल बनेको छ ।

एकातिर राजनीतिक दलहरूलाई कार्यशैली सच्याउने दबाब छ भने अर्कोतिर नयाँ बन्ने सरकारसामु चुनौतीका चाङ त्यत्तिकै छन् । अब बन्ने सरकारले सुरुमै सामना गर्ने मुख्य चुनौती भनेको राजनीतिक अस्थिरता हो । मत परिणामअनुसार नयाँ सरकार मिलीजुली सरकार बन्ने निश्चित छ । तर, नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको पाइँदैन । सानो कुरामा चित्त नबुझ्नेबित्तिकै सरकार ढाल्ने वा अस्थिरता निम्तिने विगतकै पुनरावृत्तिको अवस्था आउने खतरा उत्तिकै छ । यद्यपि, नेपालको संविधानले दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरे पनि गठबन्धनभित्र मतभेद भए अस्थिरताको खतरा सधैँ रहन्छ ।

आगामी सरकारले झेल्नुपर्ने अर्को ठूलो चुनौती संघीयतालाई संस्थागत तथा कार्यान्वयन हो ।संसद्मा संघीयताविरोधी वा प्रदेशप्रति अनुदार शक्तिको जबरजस्त उदय भएको छ । यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलको रूपमा उदाएको छ भने राप्रपा पनि संसद्मा थप सशक्त बनेको छ । राप्रपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो र उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले पनि संघीयताप्रति अनुदार नीति लिएको आरोप खेप्दै आउनुभएको छ । त्यसले गर्दा अबको सरकारलाई संघीयतालाई थप बलियो पार्ने कानुन पारित गर्न अवरोध उत्पन्न हुनसक्छ ।

अब बन्ने सरकारका लागि विशेषगरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने मुख्य चुनौती छ । अहिले स्वतन्त्र पार्टीले पाएको मत भनेको जनआक्रोश र निराशाको मत हो । त्यसलाई चिर्न अब बन्ने सरकारले काम गर्नुपर्ने चुनौती देखिन्छ ।

मुलुक आर्थिक संकट उन्मुख रहेको आर्थिक क्षेत्रका जानकारहरू भनाइ सार्वजनिक गर्दै आएका छन् । कैयौँ अर्थशास्त्रीहरूले नेपालको गत वर्षदेखि नै नेपाली अर्थतन्त्रलाई संकटोन्मुख बताउँदै आएका थिए । त्यसमा केही सुधारको संकेत देखिने तर फेरि केही आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएको कतिपयको भनाइ छ । आगामी सरकारले खासमा मुख्य प्राथमिकतामा आर्थिक विषयलाई राख्नुपर्ने देखिन्छ । चर्को मूल्यवृद्धि, उच्च ब्याजदर, बेरोजगारी र अनावश्यक प्रशासनिक खर्चको बोझ जस्ता कुरालाई नियन्त्रण गर्नतर्फ सरकार तत्काल नलागे त्यसले ठूलो संकट निम्तिने सम्भावना छ ।

नेपाली अर्थतन्त्रमा देखिएको समस्याका केही आन्तरिक र केही बाह्य कारणहरू रहेका छन् । जस्तो डलरको अधिकमूल्य र पेट्रोलियमको मूल्यवृद्धिका लागि बाह्य कारणहरू जिम्मेवार छन् । यस्ता कुरालाई नियन्त्रण गर्न नसकिए पनि न्यूनीकरण गर्न सकिन्छ । नेपालको बढ्दो आर्थिक अनिश्चितता र संकटलाई कम गर्न विदेशी मुद्रा आम्दानीका मुख्य स्रोतहरू निर्यात, पर्यटन, वैदेशिक लगानी, वैदेशिक सहायता र विप्रेषण बढेमा मात्र सम्भव छ ।

पछिल्ला वर्षहरूमा परराष्ट्र मामिलामा नेपालको कमजोर उपस्थिति देखिएको तथा कतिपय अवस्थामा नेपाल शक्ति राष्ट्रहरूको टकरावको केन्द्र बन्ने हो कि भन्ने चिन्ता बढेको छ । त्यसलाई सन्तुलनमा राख्ने चुनौती नयाँ सरकारलाई छ । परराष्ट्र नीतिमा नेपालले पुरानै नीतिको निरन्तरता दिएर सन्तुलन कायम गर्नु चुनौती छ । कतिपयले नेपालले अमेरिकी सहायता परियोजना एमसिसी पास गरेपछि नेपाल चीन र अमेरिकाको चेपुवामा पर्ने चिन्ता पनि व्यक्त गरिरहेका छन् । यस्तोमा नेपालले सन्तुलित नीति लिएर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाउने चुनौती रहेको देख्नेहरू धेरै छन् ।

अब बन्ने सरकारका लागि विशेषगरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने मुख्य चुनौती छ । अहिले स्वतन्त्र पार्टीले पाएको मत भनेको जनआक्रोश र निराशाको मत हो । त्यसलाई चिर्न अब बन्ने सरकारले काम गर्नुपर्ने चुनौती देखिन्छ । हुन त पुराना दल मात्र होइन नयाँ दलहरूलाई पनि आफ्नो शाख जोगाउने सकस देख्छन् । अझ उनीहरू सरकारमा सामेल भए भने जन अपेक्षा धेरै हुने भएकाले त्यसलाई पूरा गर्न नसकेमा जनतामा चाँडै निराशा बढ्ने जान्छ ।

निर्वाचनको अवधिमा जनतालाई भगवान्सरह ढोग्दै आशिर्वाद लिने राजनीतिक दलका उम्मेद्वारहरूबीच तीव्र होडबाजी हुने गर्छ । निर्वाचित भइसकेपछि जनताको अपेक्षालाई सम्बोधन गर्ने अभिभावक पनि निर्वाचित सांसद नै हुने गर्छ । यो निर्वाचनको मत परिणामले तीन ठूला दलका मुख्य तीन कमजोरीलाई उजागर गरेको देखिन्छ । पाँच वर्षभित्र प्रदेश सरकार फेरबदल भयो तर सरकारको कामबाट जनताले राहत पाउन सकेनन् । सुशासनको प्रत्याभूति दिन सकेनन् । प्रदेश १ ले त प्रदेशको नामकरण पनि गर्न सकेन । प्रदेश सरकारको औचित्यमाथि जनताले औँलो ठड्याइरहेका छन् । अन्त्यमा, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले ठूला राजनीतिक दल सच्चिनुपर्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…