देवतालमा करार कर्मचारीको परीक्षा स्थगित, परीक्षा हुने नहुने अन्यौल

बाराको देवताल गाउँपालिकामा शनिबार आयोजना गरिएको लिखित परिक्षाको विरोध गर्दै वडाध्यक्ष तथा स्थानीयहरु । तस्बिरः सञ्जिवकुमार मिश्र

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बाराको देवताल गाउँपालिकाले शनिबार आयोजना गरेको करारका कर्मचारीहरुको लिखित परिक्षा स्थगित गरेको छ ।
पालिकाले खुल्ला प्रतिस्पर्धाबाट सेवा करारमा पदपूर्तिका लागि भदौ ३१ गते प्रकाशित गरिएको सूचना बमोजिम दर्ता भई प्रारम्भिक योग्यताक्रमको सूचीमा परेको उम्मेदवारहरुको लिखित परिक्षा ११ बजे देखि संचालन गरेको थियो ।

११ बजे देखि शुरु भएको अनमी र अहेबको लिखित परीक्षा लिने क्रममा वडा नम्बर ४, ५, ६ र ७ का वडाध्यक्षहरु ललन कुमार यादव, सुरेश प्रसाद साह, संजय कुमार र सतेन्द्र प्रसाद यादव लगायतका व्यक्तिहरुले एक्कासी परीक्षा केन्द्रमा प्रवेश गरि हुल हुज्जत गरेको करार कर्मचारी छनौट समितिका संयोजक तथा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले बताउनुभयो ।

४ वटै वडाका वडाध्यक्षहरुले दोश्रो चरणमा हुने लिखित परिक्षा स्थगित गर्न निवेदनसहित माँग गरेका र परीक्षा केन्द्र बाहिर तथा गाउँपालिकाको प्रवेशद्धारमा समेत टायर बाली आगलागी गराई स्थानीय मानिसहरु आन्दोलनमा उत्रिएको कारण परिक्षा स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्षहरुको अवरोधको कारण अर्को सूचना जारी नभएसम्मको लागि लिखित परिक्षा स्थगित गर्ने शनिबार बसेको करार कर्मचारी छनौट समितिले निर्णय गरेको उहाँले बताउनुभयो ।

पदपूर्ति समिति गठन नै नगरी परिक्षा संचालन गरेको देवताल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवले बताउनुभयो ।आफूहरुले पटक पटक कानून सम्मत र निष्पक्ष रुपमा पदपूर्ति हुनु पर्ने माँग राख्दै आएका यादवले बताउनुभयो । परिक्षा निष्पक्ष र कानून सम्मत नगरेको कारण आफूहरुले विरोध गरेकाे उहाँकाे भनाई थियाे । आफुहरु परिक्षा हलमा प्रवेश नगरेकाे पनि उहाँले बताउनुभयाे ।

हाम्रो माँग जायज छ, उहाँले भन्नुभयो, 'जायज माँगको समर्थनमा जनताहरु आउनु र आन्दोलन गर्नु स्वभाविक हो तर हामीले कहि कतै कुनै आगजनी गरेका छैनौ । आफनो माँग सम्बोधन गर्न आवाज उठाएका छौ यो हाम्रो अधिकार हो । पदपूर्ति समिति गठन नै नगरी संचालन गरिएको परीक्षाको हामीले विरोध गरेका हौ ।' पदपूर्ति तथा परिक्षा संचालनमा निष्पक्षता नभएको कारण विधिसम्मत काम गर्न गराउन अडान लिएको उहाँले बताउनुभयो ।

'हामीले पटक पटक विधिसम्मत काम गर्न गराउन माग गर्दै आएका छौ'- देवताल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ललन कुमार यादवले भन्नुभयाे ।

'कुनै पनि काममा एकहोरो रुपमा जाने, कुनै छलफल नगर्ने, आफू मनोपोली कार्यहरु पालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत वकिल पालले गर्दै आएका छन्,' उहाँले भन्नुभयो,‘ हामीले पटक पटक कानून विपरित गरिएको कार्यहरुको विरोध गर्दै आएका छौं तर पनि हाम्रो मागलाई पालिकामा बेवास्ता गरिएको छ ।’

पदपूर्ति मात्र होइन विकास निर्माणको काममा समेत हाम्रो कुनै संलग्नता नगराई हामीलाई कुनै जानकारी नै नदिई कामकाजहरु पालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत पालले गर्दै आएका छन् । अस्पताल तथा स्वास्थ्य चौकी लगायतको पदमा आफू मनोपोली कर्मचारीहरु पठाउने कुनै सर सल्लाह नगर्ने गरेका छन्, उहाँले भन्नुभयाे ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?