हामी आभारी छौं

हिमालय टाइम्स
Read Time = 3 mins

हामी २७ वर्ष पूरा गरी २८ वर्षको यात्रामा लागेका छौं । यस बेला विगतको कष्टकर यात्राका तीतामिठा सबै अनुभवहरूलाई पुनः स्मरण गर्ने पक्षमा हामी छैनौं । ती दिनहरूको अभिलेख बनिसकेको छ । अब भविष्यतर्फको यात्रालाई सफल बनाउने हाम्रो प्रयास हुनेछ । हामी प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, निमुखा, विपन्न र सीमान्तकृतहरूको आवाजलाई मुखरित गराइ रहने छौं । यसअघि पनि अनेक झञ्झावात खेप्दै, सहँदै हामीले राष्ट्रको र जनताको आवाजलाई नै प्रस्तुत गर्दै सञ्चारकर्मलाई इमानदारी र निष्ठाकासाथ गरिरहेका थियौं ।

हाम्रो यात्रालाई सहज तुल्याउन विगतमा धेरै सहकर्मीहरूको योगदान रहेको छ । एक प्रकारले विगतका दिनमा हिमालय टाइम्स पत्रकारितामा संलग्न हुन चाहने र निरन्तर यस क्षेत्रमा संलग्न अनेक पत्रकारका लागि पाठशाला जस्तो भएको थियो । अहिले पनि त्यही रूपमा हाम्रो योगदान निरन्तर छ भन्दा खुशी लागेको छ ।

हामीले छापा माध्यमबाट आरम्भ गरेको यात्रा अहिले अनलाइन, युट्युब र अन लाइन अंग्रेजी संस्करणसम्म पुगेको सहर्ष जानकारी गराउँछु । यस अवसरमा सहयोग गर्नु हुने पाठक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, सम्पादक मित्रहरू, स्नेहपूर्वक लेख रचना प्रदान गर्ने लेखकहरू, सम्वाददाताहरू, व्यवस्थापन, प्रशासन, विज्ञापन, राजस्व आदिमा बसेर योगदान गर्ने र कार्यालय सहयोगीहरू सबैप्रति म कृतज्ञता प्रकट गर्दछु ।

हामीलाई स्नेहपूर्वक शुभकामना दिनु हुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूमा हिमालय टाइम्सको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत तीन तहको निर्वाचन सम्पन्न भएको छ । भरखरमात्रै संघीय प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनुभएका र त्यस पहिले स्थानीय सरकारमा विजयी सबैमा बधाई तथा कार्यकाल सफल होस् शुभकामना छ ।

सबैको जय होस् सबैको कल्याण होस् ।

आभा मिश्र
अध्यक्ष
इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.
२०७९ पुस १०

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?