नाडाद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

Read Time = 6 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापा नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले आफूले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको भन्दै अटोमोबाइल व्यवसायीले हाल भोगिरहेकोे समस्या समाधानका विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको भन्दै व्यवसायीबाट जारी आन्दोलन स्थगित गर्न आग्रहसमेत गर्नुभएको नाडाले जनाएको छ ।

अध्यक्ष थापाले कोरोनाका कारण व्यवसायमा धेरै अप्ठ्यारा परिस्थिति सिर्जना हुँदा पनि व्यवसायीले जसोतसो व्यवसायलाई निरन्तरता दिँदै आएकोमा पछिल्लो समयमा आएका विभिन्न नीतिका कारण पहिल्यैदेखि प्रताडित अटोमोबाइल व्यवसायलाई झनै कठिन अवस्थामा पु¥याएको बताउनुभयो । जसका कारण व्यवसायी व्यवसायबाटै पलायन भएको भन्दै अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहलका लागि आग्रह गर्नुभयो । उहाँले बढ्दो ब्याजदर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न, सवारीसाधन आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिन सीमा १० प्रतिशत नै कायम गर्न, अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था ७५ प्रतिशत नै कायम गर्न, बंैकबाट निजी सवारीसाधन कर्जाको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्न आग्रह गर्नुभयो ।

साथै नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुँदा हालको अवस्थामा व्यावहारिकरूपमा लागू गर्न कठिन हुने देखिएको सन्दर्भमा निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्नका लागि उहाँले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको नाडाले जनाएको छ । सो अवसरमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय निराकार श्रेष्ठ र अभिक ज्योतिको उपस्थिति रहेको थियो ।

हानका तीनबुँदे माग
होटल संघ नेपाल(हान)का अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणका लागि तीनबुँदे मागपत्र प्रस्तुत गरेको छ । सो अवसरमा अध्यक्ष राणाले ब्याजदर, कर्जाको सावाँब्याज तिर्ने समय थप र पुनर्कर्जा र पुनर्तालिकीकरणको माग गर्नुभयो । कोरोनाबाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए पनि यसका स्वरूप फैलिरहेका र क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको भन्दै देशैभरका होटल दैनिकरूपमा घाटामा सञ्चालनमा रहेको पनि राणाले जानकारी गराउनुभयो ।

हानले नेपाल राष्ट्र बैंकबाट जारी चालु पुँजी कर्जा निर्देशिका तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकताप्राप्त उद्योगका रूपमा कानुनमै व्यवस्था गर्न माग गरेको छ । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने आश्वासन दिएको हानले जनाएको छ । प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, सदस्य गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, शशिकान्त अग्रवाल, रानी बाङलगायत रहनुभएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?