कभर्ड हल निर्माणका लागि एक लाख सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खेलकुदप्रेमी तथा ब्ल्याक हर्स सुजका प्रोपाइटर चिनबहादुर श्रेष्ठले आफ्नो जन्मदिनका अवसरमा भलिबलको कभर्ड हल निर्माणका लागि एक लाख आर्थिक सहयोग गर्नुभएको छ । ब्ल्याक हर्स सुजका प्रोपाइटर श्रेष्ठले आफ्नो जन्मदिनका अवसरमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा निर्माणाधीन वर्षा ओत्ने भलिबल कभर्ड हल सहयोग अभियानमा एक लाख एक हजार १०१ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो ।

श्रेष्ठले क्लबका अध्यक्ष कुमार राईलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम प्रदान गर्दै प्रोपाइटर श्रेष्ठले न्यु डायमण्डको कभर्ड हल निर्माणमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताउनुभयो ।

क्लबको कभर्ड हल निर्माणलाई सहयोग अभियान आउने क्रम जारी छ । यसअघि समाजसेवी तथा हङकङमा रहेका रमेश राईले एक लाख एक हजार १११ रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै, पहिलो चरणमा हाल पोर्चुगलमा रहनुभएका समाजसेवी तथा भलिबलप्रेमी फुनुरु शेर्पाले ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

न्यु डायमण्डले चन्द्रागिरि नगरपालिका १३ स्थित नैकापमा विगत एक महिनादेखि दुई रोपनीभन्दा बढी जग्गामा आवासीय सुविधासहितको कभर्ड हल निर्माण गरिरहेको छ । क्लबले सोही निर्माणाधीन कभर्ड हलमा माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म स्कुलस्तरीय यू-१८ खुला महिला भलिबल च्याम्पियन आयोजना गर्ने तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?