चर्च ब्वाइजसँग पुलिस पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । २२ औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । राष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङले गोल गर्नुभएपछि चर्च ब्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजले नेपाल पुलिल क्लबलाई दुई-एकले हराएको हो । गत वर्ष ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले पुलिसमाथि पुनरागमन जित हात पारेको हो । रवि पासवानको गोलमा पुलिसले २५ औँ मिनेटमा अग्रता लिएको थियो । मनाङ मस्र्याङ्दी क्लब छाडेर चर्च ब्वाइज पुग्नुभएका अन्जनले ७६ औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो ।

निर्धारित समय एक–एकको बराबरीमा टुंगिएपछि थप समयमा अनन्तले निर्णायक गोल गर्नुभएको थियो । थ्रीस्टार छाडेर नयाँ क्लब पुग्नुभएका अनन्तले थप समयको १० औँ मिनेटमा गोल गर्नुभएको थियो । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन मच्छिन्द्र एफसीको सामना गर्ने भएको छ ।

प्रतियोगितामा साबिक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख नगद रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकले आवासीयरूपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?