वीपीको मेलमिलाप नीति अनुसार अगाडि बढ्नु आवश्यक : महामन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले फेरि पनि बीपीको मेलमिलापको नीतिअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्वर्गीय मित्रसेन दाहालद्वारा लिखित पुस्तक ‘मित्र–विचारमाला’ को विमोचन कार्यक्रमको सन्दर्भमा उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

प्रमुख अतिथि रहनु भएको सो र्काक्रममा उहाँले स्वर्गीय मित्रसेन दाहालसँगको आफ्नो सामिप्यको चर्चा गर्दै पार्टीका लागि समर्पित व्यक्ति हुनुहुन्थ्यो भन्दै स्मरण गर्नु भयो । उहाँसँग धेरै वर्ष पहिलेदेखि उहाँको अन्तिम संस्कारसम्म पनि संलग्न भएको विचार राख्दै महामन्त्री शर्माले स्वर्गीय दाहालले अमिट छवि छोडेर जानुभएको विश्लेषण नेपाली कांग्रेस पार्टीले गरेको धारण व्यत्त गर्नु भयो । उहाँले समाजसेवाका माध्यमबाट ओललढुंगालाई उचाइमा पुर्‍याउनु भएको बताउँदै महामन्त्री शर्माले भन्नुभयो, ‘आज विमोचन भएको पुस्तकको प्रभाव निकै पछिसम्म पनि रहिरहनेछ ।’ उहाँले समारोहमा पार्टी सरकारमा रहँदा वा नरहँदा पनि समाजलाई असल बनाउनतिर लाग्नुपर्ने भनाइ राख्नुभयो । महामन्त्री शर्माले मित्रसेन दाहालले पनि समाजलाई असल बनाउने प्रयास गर्नुभएको थियो भन्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले साहित्यकार र राजनीतिक व्यक्तिहरूले चिनाएको ओखलढुंगालाई समाजसेवीका रूपमा मित्रसेन दाहालले चिनाउने काम गर्नुभयो भन्दै ‘मित्र–विचारमाला’ पुस्तकभित्र आएका धेरै सत्य कुराले उहाँ अमर बन्नुभएको धारण राख्नु भयो । प्रतिनिधिसभा सदस्य खतिवडा जे.पी.मैत्रीसेवाश्रम ओखलढुंगाका मानिसहरूले गौरव गर्न सकिने संस्था रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा मानव अधिकारवादी व्यक्तित्व प्रा.पुरुषोत्तम दाहालले ‘मित्र–विचारमाला’ पुस्तक प्रकाशनको पृष्ठभूमिका बारेमा प्रकाश पार्दै मित्रसेन दाहालको व्यक्तित्व र कृतित्वका बारेमा समेत प्रकाश पार्नु भएको थियो । उहाँले यो पुस्तक एकजना मृत्यु भइसकेका व्यक्तिको वकपत्र हो भन्दै उहाँको प्रयासबाट निर्माण भएको जे.पी. मैत्रीसेवाश्रम बाहिरबाट हेर्दा जति सुन्दर छ त्यसको निर्माणका क्रममा स्व.मित्रसेन दाहालले गर्नुभएको परिश्रमको साक्षी ‘मित्र–विचारमाला’ पुस्तक रहेको बताउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष शकुन्तला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महसचिव डा.बालकृष्ण खनालले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रममा ‘मित्र–विचारमाला’ पुस्तकका सम्पादक विनोद दाहाल वत्सले यस पुस्तकको सम्पादन गर्दाका सन्दर्भहरू बताउनु भएको थियो । साहित्यकार मधुसूदन पाण्डेयले पुस्तकको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी सावित्री जंगम थापा तथा मित्रसेन दाहाल फाउण्डेशनका अध्यक्ष हरिप्रसाद दाहालले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

जे.पी.प्रतिष्ठानको साधारण सभासमेत रहेको समारोहमा चैतन्यमाया श्रेष्ठलाई सम्मानित गरिएको थियो । मोहन घिमिरेद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शकुन्तला दाहालले प्रतिष्ठानको वार्षिक विवरण तथा लेखनाथ दाहालले आयव्ययको विवरण पेश गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?