पोखराको लगातार तेस्रो जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले काठमाडौंलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले १९ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिनुभयो । ५२ बलमा उहाँले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिनुभएको हो । त्यसैगरी पोखराका कप्तान उपुल थरंगाले ५८ रनको योगदान दिनुभयो । ४९ बल प्रहार गर्नुभएका उहाँले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाउनुभयो ।

कुशल मल्लले अविजित १४ रन जोड्नुभयो भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाउनुभयो । बलिङतर्फ काठमाडौंका कमल ऐरीले तीन विकेट लिनुभयो भने अनिल खरेल र अविनाश बोहोराले समान एक/एक विकेट लिनुभएको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिनुभएको थियो भने सुमन गौतमले ४५ रन बनाउनुभयो । त्यस्तै, विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोड्नुभयो । काठमाडौंलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिनुभयो भने कुशल मल्ल र प्रतिश जिसीले समान एक/एक विकेट लिनुभयो ।

यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । त्यस्तै, छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौं ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, अर्को खेलमा फारवेस्ट युनाइटेडलाई जनकपुर रोयल्सले ८२ रनले पराजित गरेको छ । जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्टले १५.१ रनमा सबै विकेट गुमाएर ७९ रनमात्रै बनाउन सक्यो । फारवेस्ट युनाइटेडका हस्मातुल्लाह शाहिदी ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा आउट हुनुभयो । भीम सार्की १३ बलमा ३ चौकासहित १६ रनमा आउट हुनुभयो ।

देव खनाल एक र विनोद भण्डारी डक आउट हुनुभयो । राशिद खान १५ बलमा ३ चौकासहित १७ रनमा अविजित रहनुभयो । समिउल्लाह शिनवारीले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुभयो । पवन सर्राफले ४ ओभरमा १५ रन खर्चेर २ तथा सोमपाल कामीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले १ चौका र ५ छक्का प्रहार गर्नुभयो । कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट हुनुभयो । सरफुदिन असरफले २० रन बनाउँदा राजेश पुलामीले १६ रन थप्नुभयो । फारवेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिनुभयो ।

सात खेलमा पाँच जित र दुई हारसहित जनकपुर १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । ६ खेलमा एक जित हात पारेको फारवेस्ट दुई अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाइएको छ । यस्तै, उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले पाँच लाख पाउनेछ । त्यस्तै, प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउनेछन् ।

इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फारवेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टार रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?