सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी- लक्ष्य अनुसार दर्शक र कारोवार

Read Time = 8 mins

बुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ मंगलवार समापन भएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरियो ।

सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै औद्योगिक प्रदर्शनी सफल बनाउन तयारीदेखि नै प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नु भयो । अध्यक्ष पौडेलले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा प्रदर्शनी सम्पन्न गरेको बताउनु भयो ।

उहाँले शसस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक थुप्रै असहजता र समस्यासँग लड्दै अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नु भएको थियो ।

उहाँले प्रदर्शनीको आयोजना सम्पन्न गर्न मद्दत पुर्याउने सम्पूर्ण संघ-संस्था, संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिनु भयो ।

समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि भएको बताउनु भयो ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार बिभाजन गरिएको थियो । जस अन्तरगत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी/अचार/आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी/सौन्र्दयमा ३६ प्रतिष्ठान, जुत्ता/चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग÷प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्र गत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।

जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौ, ललितपुर, बाके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङलगायत रहेका थिए ।

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरी र प्रदर्शनी मुल समितिका संयोजक माधवप्रसाद पौडेलले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद एवं पूर्वमन्त्री लिला गिरीले रुपन्देही उद्योगसंघले आयोजना गरेको प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटेको कोर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दा अब सबैको सरोकारको विषय बन्नु पर्ने धारणा राख्नु भयो । उहाँले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालई कसैले विर्सन नसक्ने बताउँदै नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिनु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गर्नु भयो ।

रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकममध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैया औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्टयाएको जनाइएको छ ।

समापनका दिन मंगलवार पनि प्रदर्शनी स्थलमा दर्शकहरु प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा आएका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान अत्यधिक खरिद गरेको स्टलधनीहरुले जनाएका छन् ।

यस पटकको प्रदर्शनी अघिल्ला आयोजनाहरु भन्दा भिन्न र आधुनिक व्यवस्थापनका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा आयोजकहरुले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?