कृषि पेसामा राउटे समुदाय

Read Time = 4 mins

काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत हुनुभएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आउनुभएको छ ।

“तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु”, उहाँले भन्नुभयो । बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताउनुभयो । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उहाँको भनाइ छ । उहाँले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आउनुभएको छ ।

पुरस्कार ग्रहण गर्न काठमाडौँ आउनुभएका उहाँले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताउनुभयो । “पुरस्कार पाएको छु । आफ्नो देशको ९पुरानो० राजधानी हेर्ने अवसरसमेत जु¥यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताउनुभयो । “पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु ।” बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उहाँको भनाइ छ ।

डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गर्नुभयो । “राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो”, विष्टले भन्नुभयो ।

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।”
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?