उपप्रधानमन्त्रीसहित तीन मन्त्रालयमा राप्रपाको दाबी, अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । बढीमा तीन मन्त्रालय लिएर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेको हो । स्रोतका अनुसार राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ । ‘अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो । हामीले उपप्रधानमन्त्रीसहित कम्तीमा तीन मन्त्रालयमा दाबी गरेका छौँ । अहिले नै मन्त्रालय कुन कुन लिने भन्ने निक्र्योल त गरिएको छैन । विकास केन्द्रित मन्त्रालयमा हाम्रो रुचि छ ।’, राप्रपाका प्रभावशाली नेताले भन्नुभयो ।

सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका सर्त राप्रपाले राखेको छ । पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ । यसैगरी, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्नेलगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने उसको माग छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताउनुभएको छ । तर, सरकारमा सहभागिताबारे आफूहरूका एजेण्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ ।
राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुँदै आउनुभएको छ । सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताए पनि उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । गत पुस १० मा सात दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएर विश्वासको मत लिन लाग्नुभएको छ । साथै विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी छ । प्रचण्डले गत पुस ११ मा शपथ लिँदै आठजना मन्त्री नियुक्त गर्नुभएको थियो, अरू मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहनु भएको छ ।

वाम एकता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल
नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरूसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न चार सदस्यीय वार्ता समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य हुनुहुन्छ । कार्यदलले वामपन्थीहरूसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो । ‘महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेलसहित सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरूसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।’

खतिवडाले अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार गरेको भेट निजी भएको बताउनुभयो । उक्त भेटको विषयमा पार्टीलाई जानकारी नभएको भन्दै उहाँले भन्नुभयो, ‘त्यो उहाँहरूको निजी भेट हो । दुई नेताहरूको भेट हो । पार्टी पार्टीको भेट होइन, भन्ने सम्झँदा हुन्छ ।’ प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको थियो ।

त्यस क्रममा प्रचण्डले नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरूले नगरेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले समर्थन मागेको छ कि छैन भन्ने नै थाहा छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?