सातै प्रदेशमा पुसभित्रै नयाँ सरकार

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । प्रदेश सरकार गठनको प्रक्रिया धमाधम सुरु हुन थालेको छ । सातमध्ये ६ प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको हो । मधेश प्रदेशबाहेक ६ वटा प्रदेशका प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गरेका हुन् । सातै प्रदेशमा कुनै पनि दलको एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आहृवान गरिएको छ । बिहीबार कर्णाली, गण्डकी र बागमतीमा सरकार गठनका लागि आहृवान भएको हो । सुदूरपश्चिम र प्रदेश १ मा यसअघि नै सरकार गठनका लागि आहृवान भइसकेको छ ।

लुम्बिनी प्रदेशमा बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न सात दिनकोे समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान गर्नुभएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २७ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न उहाँले आहृवान गर्नुभएको हो । लुम्बिनीमा कुनै पनि दलको एक बहुमत छैन । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ  ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुस २७, बागमती र गण्डकीमा पुस २५ तथा प्रदेश १ मा २४ गतेभित्र नयाँ सरकार गठनका लागि आहृवान, मधेशमा एक/दुई दिनमै आहृवान हुने

प्रदेशसभामा एमालेका २९, नेपाली कांगेसका २७, माओवादीका नौ, नागरिक उन्मुक्ति र राप्रपाका चार÷चार तथा जनमत, लोसपा र जसपाका तीन÷तीन सांसद छन् । त्यस्तै, बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय सीमा दिएर पुस २५ गतेभित्र नयाँ सरकार गठनका लागि आहृवान गर्नुभएको छ । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । बागमतीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । यहाँ केन्द्रीय गठबन्धन कायम रहे गठबन्धनकै सरकार बन्ने सम्भावना छ । तर, गठबन्धनमा भागबण्डा मिलेको छैन । बागमतीमा राप्रपाले समेत मुख्यमन्त्री दाबी गरिरहेको छ ।

यस्तै, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरूलाई आहृवान गर्नुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । गण्डकी प्रदेशमा केन्द्रमा भएको सत्ता समीकरणअनुसार गठबन्धनकै सरकार बन्ने सम्भावना छ । गण्डकीमा एमालेका २२, माओवादीका आठ र राप्रपाका दुई सांसद छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादीसँग एक सांसद छन् ।

उता कर्णालीमा प्रदेश प्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आहृवान गर्नुभएको छ । पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि उहाँले बिहीबार आहृवान गर्नुभएको हो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन चाहिन्छ । कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राप्रपा, एकीकृत समाजवादीका एक÷एक र एकजना स्वतन्त्र सांसद छन् । यसअघि सुदूरपश्चिममा पुस २७ भित्र र प्रदेश १ मा पुस २४ गतेभित्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भइसकेको छ । अब मधेश प्रदेशमा मात्रै सरकार गठनका लागि आहृवान गर्न बाँकी छ । मधेशमा पनि एक/दुई दिनमा सरकार गठनका लागि आहृवान गर्ने तयारी छ । यसरी हेर्दा पुसभित्रै सातै प्रदेशमा नयाँ सरकार गठन भइसक्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?