सरकारी विद्यालय सुधार अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । सरकारी विद्यालयहरुको ब्यवस्थापन राम्रो नभएको गुनासो बढी रहदाँ भोजपुरका दुई विद्यालय ब्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन् ।

सरकारी विद्यालयमा पठनपाठन र ब्यस्थापन कमजोर हुने भन्दै आफना बालबालिकाहरु निजी विद्यालयमा लानेक्रम बढी रहँदा भोजपुरका ती दुई विद्यालयलाई प्रदेश १ सरकारले उत्कृष्ट भन्दै पुरस्कृत समेत गरेको हो ।

भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिका वडा नम्वर १ कुलुङमा रहेको वीरेन्द्र मावि र भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको जनसेवा आधारभुत विद्यालयलाई उत्कृष्ट विद्यालयकारुपमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले नगद सहित पुरस्कृत गरेको हो । प्रदेश १ को १४ जिल्लामा पाँच हजार एक सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोत्कृष्ट सामुदायिक विद्यालयमा सुचीकृत छन । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पूरा गर्ने प्रदेशमा २७ वटा मात्र सामुदायिक विद्यालय पाइएको हो ।

प्रदेश सरकारको सुचक अनुसार मावि तर्फ भोजपुरको वीरेन्द्र मावि सहित १४ र आधारभुत तर्फ १३ गरी २७ विद्यालय उत्कृष्ट सामुदायिक विद्यालय भएका हुन् । उत्कृष्ट भएका मावि तर्फका बिद्यालयले १४ लाख र आधारभुत तर्फ साढे सात लाखसहित सम्मान पत्र पाएका छन् । प्रदेशको प्रत्येक जिल्लाका एक÷एक मावि र आधरभूत तर्फ १३ जिल्लाका १३ वटा विद्यालय छनौट भएका थिए ।

जिल्लाको उत्तर कुलुङमा रहेको वीरेन्द्र मावि पुरानो विद्यालय हो भने सदरमुकाममा रहेको जनसेवा आधारभुत विद्यालय २०१७ सालमा स्थापना भएको विद्यालय हो । जनसेवामा हाल तीन सय बढी विद्यार्थी अध्ययनरत रहेका छन भने यहाँ इसिडि देखि कक्षा आठसम्म पठनपाठन हुँदैआईरहेको छ ।

हामी सवैको प्रयासबाट विद्यालयमा गुणस्तरीय पठनपाठन हुन थालेपछि अन्य विद्यालयबाट समेत बिद्यार्थी आउने क्रम बढेको छ, बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पाण्डेले भन्नुभयो, “विद्यालय संचालनका लागि शिक्षक, विद्यालय ब्यवस्थापन समिति र अभिभावकका बीचमा समन्वय राम्रो भएकाले विद्यालयलाई यहाँसम्म ल्याइपु¥याउन विद्यालय सफल भएको छ ।”

अन्य सरकारी विद्यालयको तुलनामा पठनपाठन राम्रो भएपछि बिद्यालयमा करिव डेढ घण्टाको दुरीबाट हिडेर समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन । जिल्लाको बोखिम, भैसिपंखा, पालुवा जस्ता ठाउँबाट पनि विद्यार्थीहरु यहाँ दैनिक पठनपाठनका लागि आउने गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खत्रीले बताउनुभयो । जिल्लामा संचालनमा रहेका अन्य केही विद्यालयहरु बिद्यार्थी अभावमा अन्य विद्यालयमा गाभिएको अवस्थामा जनसेवा भने शैक्षिकरुपमा अगाडी आएको हो ।

विद्यालयको शैक्षिक सुधार र ब्यवस्थापनका कारण उत्कृष्ठ भएर पुरस्कृत विद्यालय भएकाले अवका दिनमा शैक्षिक गुणस्तरीयता कायम राख्न झन मेहनत गरिने शिक्षक होमबहादुर निरौलाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?