अहिलेको कार्यकाललाई नमूना बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने गरी सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गर्नुभयोे । ‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो ।

यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ । जनताको त्यो आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

आफ्नो तेस्रो कार्यकाल नमुना हुने दाबी गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मेरो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरियो । विकास र समृद्धिको बिजारोपण गरियो । किसानलगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो । दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संघीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो । तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ । त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।’

प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो । ‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन । यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ । यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ । त्यसतर्फ पनि सरकारले सोचिरहेको छ ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो । ‘सामाजिक चेतनाका निम्ति, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकहरूको महŒवपूर्ण योगदान रहँदै आएको छ । यसमा हामी गर्व गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो

पार्टी एकताका लागि माओवादीले बनायो कार्यदल
नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहनुभएको छ । शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।

कार्यदलका सदस्य शर्माले हिमालय टाइम्ससँग भन्नुभयोे, ‘कार्यदलले नेसपा मात्र नभएर एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्नेछ ।’ शनिबारको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । त्यस्तै, बैठकले माघ ११ गते स्थायी समिति बैठक र माघ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?