सरकारलाई डा. गोविन्द केसीको प्रश्न : सरकारमा अपराधीको ठाउँ कहाँ हो ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ ।

आईतवार महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताउनु भयो । उहाँले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताउनु भयो ।

उहाँले देशमा अपराधिको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो । डा. केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधिकरण भइरहेको बताउनु भयो । उहाँले राजनीति अपराधिहरुले चलाउने ठाउँ भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कारबाही गर्ने भनेको १ वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टो टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधिकरण अरु के हुन्छ । राजनीति शुद्धिकरण हुनुपर्छ । राजनीति भ्रष्टीकरण र अपराधिकरण गर्नेहरुको छ । चरमसीमामा गरिएको छ । राजनीति भनेको अपराधिहरुले चलाउने भएको छ ।’

बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताउनु भयो । उहाँले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ । जसकारण पीडकले सजाय पाउन सकेको छैन, पीडित मर्नुपरिरहेको छ । अनुसन्धानमा प्रहरीले समेत प्रभाव पारेको छ ।’

आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आज (आईतवार) माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजि गरेका थिए ।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्तलाई अझै पक्राउ गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?