जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनकपुर रोयल्सलाई पराजित गर्दै विराटनगर सुपर किंग्स नेपाल टि-२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगरले फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि विराटनगरले लुम्बिनी अल स्टार्सको सामना गर्दैछ । लुम्बिनी यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रनमा समेटियो । जनकपुरका चाडविक वाल्टनले ४७ बलमा ६ चौकासहित सर्वाधिक ५१ रन बनाउनुभयो । कप्तान ट्रभोन ग्रिफिथ २४ बलमा ४ चौका र १ छक्कासहित ३४ तथा सन्दीप जोरा ९ रनमा आउट हुनुभयो ।

विराटनगरका राज नान्ननले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै केओन जोशेफले ४ ओभरमा २७ रन खर्चेर ३ तथा सूर्य तामाङले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित ४२ रन बनाउनुभयो । अर्जुन साउद २६ बलमा २ चौका र २ छक्कासहित ३५, हुसेन तालत २१ बलमा ५ चौका हान्दै ३१ रन बनाउनुभयो ।

शराफुद्दिन अशरफ, ललितनारायण राजवंशी र समिउल्लाह शिनवारीले एक/एक विकेट लिनुभयो । पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने क्यानले जनाएको छ । त्यस्तै प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउने क्यानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?