राष्ट्रियसभाका सांसदको गुनासो : दोस्रो दर्जाको व्यवहार भयो, वडा सदस्य जतिको हैसियत पनि भएन

नारायण भण्डारी
Read Time = 11 mins

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले आफूहरू मर्यादाक्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसदजस्तो भएको गुनासो गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरूले राष्ट्रियसभा सदस्यको राज्यले दिएको र स्वयं व्यक्तिगत रूपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले पार्टीभित्र प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरूले राष्ट्रियसभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधिसभा सदस्यभन्दा तल राखिने गरेको भन्दै आपत्तिसमेत जनाए ।

राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसदजस्तो हुने गरेको गुनासो गर्नुभयो । उहाँले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादासमेत नपाएको बताउनुभयो । उहाँले विभिन्न कार्यक्रममा समेत प्रतिनिधिसभा सांसदलाई पहिला र राष्ट्रियसभा सांसदलाई पछि बोलाउने गरेको बताउनुभयो । उहाँले अहिलेको यस्तो अवस्थालाई स्थापित गराउनको लागि समितिले प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रूपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताउनुभयो । उहाँले समितिले थोरै काम र निर्देशन गरी परिणाम ल्याउँदा मात्रै राम्रो हुने, अन्यथा छलफलमा मात्रै सीमित हुने बताउनुभयो ।

सांसद विमला घिमिरेले राष्ट्रियसभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादाक्रम सच्याउनुपर्ने बताउनुभयो । उहाँले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधिसभा सांसदलाई माथि राख्न नमिल्ने बताउनुभयो । सांसद कमलादेवी पन्तले प्रतिनिधिसभा नचल्नेबित्तिकै राष्ट्रियसभा नचल्ने अवस्था भएर राष्ट्रियसभाको औचित्य नभएको महसुस भएको बताउनुभयो । उहाँले राष्ट्रियसभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताउनुभयो । उहाँले प्रतिनिधिसभा नचल्दा राष्ट्रियसभा पनि नचल्ने यकिन हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभा निरीह सभाजस्तो भएको उल्लेख गर्नुभयो ।

सांसद शारदादेवी भट्टले राष्ट्रियसभाका सांसदले कुनै अधिकार नपाएको बताउनुभयो । उहाँले राष्ट्रियसभामा बोलेका र समितिमा छलफल भएका कुनै पनि विषय कतै कार्यान्वयनमा नआएको बताउनुभयो । उहाँले राष्ट्रियसभाका सांसदले संसद्मा बोल्ने काम मात्रै भएको उल्लेख गर्नुभयो । त्यस्तै, सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधिसभाका सांसद बौद्धिक रूपमा माथि भए पनि राष्ट्रियसभा सदस्य नै उनीहरूभन्दा माथि हुने बताउनुभयो । उहाँले राष्ट्रियसभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको बताउनुभयो । यसैबीच राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

संसदीय समितिका अधिकांश निर्देशन सरकारले पालना नगरेको भनाइ
दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गर्नुभएको छ । बिहीवार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि कुराकानी गर्दै सभापति पन्थले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको स्वीकार गर्नुभएको हो । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको बताउनुभयो ।

उहाँले ससद् र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताउनुभयो । उहाँले सरकारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा र प्रतिनिधिसभा गरेर १६ वटा संसदीय समितिहरू रहेका छन् । विगतदेखि मिडियामा संसदीय समितिहरूले दिएका निर्देशन सरकारले पालना नगरेका कुराहरू आइरहेका छन् । बाहिर आएका कुराहरू सत्यता नै हो । संसदीय समितिले दिएका निर्देशनहरू सरकारले कार्यान्वयन गरेको अवस्था छ । समितिले निर्देशन दिँदा प्रमाण बेस अध्ययन गरेर निर्देशन गर्न सकियो भने प्रभावकारी हुनसक्छ ।’
उहाँले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद् आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसद्प्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताउनुभयो । उहाँले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने बताउनुभयो ।

‘आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो’
सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले कूटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताउनुभयो । उहाँहरूले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्नु नहुने धारणा राख्नुभयो ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्र लक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरूको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गर्नुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याईकन देशलाई समृद्ध बनाउन नसकिने बताए । उनले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरू रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताउनुभयो । उहाँले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरूको पूर्णता दिई कामहरूमा छिटो र छरितो बनाउनुपर्ने बताउनुभयो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरू उत्साहित नदेखिएको भन्दै उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले विदेशी लगानी भिœयाउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले ४५ वर्ष अगाडि स्थापना गरिएका दूतावासहरूमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गर्नुभयो ।

राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । एकबुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?