नेपाल पुलिस र न्यु डायमण्ड फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमण्ड क्लब सातौैँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा साबिक उपविजेता नेपाल एपिएफ क्लबलाई तीन-दुईको सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट पुलिसले २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुवै सेट एपिएफले जित्दै खेलमा दुई-एकको अग्रता लियो ।

दोस्रो सेट एपिएफले २५-१७ ले र तेस्रो सेटमा २५-२१ को जित हात पारेको थियो । चौथो सेट पुलिसले २५-२१ ले जित्दै खेललाई दुई-दुई सेटको बराबरीमा ल्यायो । पाँचौँ सेटमा पुलिसले १५-७ को सहज जित हात पार्दै फाइनलमा स्थान बनायो । पुलिसकी उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।

यस्तै, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई तीन–एकको सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो । डायमण्डले पहिलो सेट १७-२५ ले गुमाएको थियो । त्यसपछि सानदार पुनरागमन गरेको उसले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । डायमण्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिनुभयो । अब डायमण्डले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीले एपिएफमाथि २५-२३, २५-१७ र २५-१७ को जित निकालेको हो ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद चार लाख पाउनेछन् । यस्तै, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?