शुक्रवारदेखी अरुण नदीमा नियमित फेरी चल्ने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा संचालित फेरी शुक्रवारबाट नियमित चल्ने भएको छ । गत चैत्र १६ गतेबाट बन्द भएको फेरी बिहिवार मर्मत गरेर परीक्षण गरिएको थियो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्वर छ र खाँदबारी नगरपालिका वडा नम्वर नौ सतिघाटस्थित अरुण नदीको फेरी पुन सञ्चालनमा आएको हो । यातायातका साधनहरुलाई सहजरुपमा वारीपारी गराउन चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि २० दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा जिल्लाको उत्तरी क्षेत्रका यात्रुहरुलाई आवतजावतमा समस्या भएको थियो ।

अरुणमा संचालनमा रहेको फेरी मर्मत भएपछि अव यातायातका साधन नियमितरुपमा वारपार हुने षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्कामा परेकाहरुको समस्या समाधान भएको छ, अव नियमितरुपमा अरुण नदीको फेरी संचालन हुन्छ ।” काठमाडौंबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको हो । फेरी संचालनमा आएपछि उत्तरी क्षेत्रको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाकास्थानीय प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?