माघ संक्रान्तिका धार्मिक र सामाजिक मान्यता

Read Time = 11 mins

✍️ इन्द्रबहादुर शाक्य

माघ १ गते माघे संक्रान्ति, घ्यूचाकु खाने पर्वका रूपमा मनाइन्छ । यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ र यस दिनमा नारायणी नदी किनार देवघाटमा मेला लाग्छ । शंखमूल बागमती नदीमा माघ १ गतेदेखि मेला सुरु हुने गरेको थियो तर अहिले हटेको छ । किरातहरूको नयाँ वर्ष पनि सुरु हुन्छ (किराती यलेम्वर सम्वत) । मगर र थारू पर्व पनि हो यो । गुल्मीको रिडी नदीमा मेला लाग्छ । गुरुङ, क्षेत्री, नेवार, बाहुन सबै नेपालीहरूले पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म यो पर्व मनाउँछन् । माघ महिनामा गुरुङहरूको कुलयान पूजा गरिन्छ ।

कर्णाली क्षेत्रमा विभिन्न जाति बसेर आएका छन् । तिनीहरू हिन्दू र बौद्ध धर्म मान्ने गर्दछन् । माघ संक्रान्तिको दिनमा सिमिकोट, मुगु, जुम्ला, हुम्लामा त्यस ठाउँको स्थानीयवासीले विशेष पूजापाठ गरी माघे संक्रान्ति पर्व मनाउँदछ । त्यस ठाउँको कमला मन्दिरमा ठूलो मेला लाग्दछ । ऋतु परिवर्तनको रूपमा यो पर्व मनाउँदछन् । यो पर्व खस जातिले नदीमा गएर स्थान गरी देवीदेवताको पूजा गरी मनाउँदछ । पहिला पहिला देवीदेवता आएर स्नान र तपस्या गर्ने ठाउँ भएको हुनाले देवीघाट भनिएको हो । नारायणघाटको देवघाटमा ठूलो मेला पर्व हुन्छ । यहाँ विभिन्न जिल्लाबाट मानिस आएर मेला गर्दछन् । त्यस्तै हेटौंडा, बराह क्षेत्र, झापाको कन्काई नदी, सबै त्रिवेणीको संगम भएको नदीहरूमा यो मकर संक्रान्ति मेला लाग्दछ । नदीमा स्नान गरियो भने रोग निको हुन्छ, स्वास्थ्य राम्रो हुन्छ भन्ने जनविश्वास छ ।

माघ १ गतेका दिनमा घ्यू चाकु खाने गरिन्छ । यसो गर्नाले यसले शरीरमा तागत दिन्छ, ठण्डी हटाउँछ । यस दिन तरुल र तिलको लड्डु, खिचडी, पालकको तरकारी खाने गरिन्छ । बिहे गरिसकेका चेलीबेटीलाई बोलाई घ्यू चाकु खुवाउने चलन छ । साथै यसदिन घाममा बसी शरीरमा तेल घस्ने कानमा र टाउकामा तेल लगाउने चलन छ । यसले गर्दा टाउको नदुख्ने विश्वास गरिन्छ ।

माघ १ गते नवलपरासीको त्रिवेणी नदीमा मकर महिनाभरि स्नान गरियो भने मानिसमा भएको रोगव्याधी निको भएर जानेछ भन्ने जनविश्वास छ । हिमालबाट बगेको नदी र पहाडबाट बगेको नदीमा जडिबुटी मिसिएर आउने भएकाले नदीमा नुहाउँदा रोग निको हुन्छ भन्ने मान्यता छ ।

माघ १ गतेदेखि ऋतु परिवर्तन हुन्छ । मौसममा फरक भएको महसुस हुन्छ । हेमन्त ऋतु सकिएर शिशिर ऋतु सुरु हुन्छ र विस्तारै गर्मी मौसम सुरु हुन्छ । पनौतीमा १२ वर्षमा एक चोटी मेला लाग्दछ । सत्य युगमा देवता इन्द्रले पनि पनौतीको त्रिवेणी नदीमा स्नान गरेका हुँदा उनले गरेको पाप सबै मोचन भएको थियो भन्ने जनविश्वास छ । त्यसैको आधारमा यहाँ १२ वर्षमा एक चोटि मेला लाग्दछ ।

त्यस्तै हरेक वर्षमा माघ १ गते नवलपरासीको त्रिवेणी नदीमा मकर महिनाभरि स्नान गरियो भने मानिसमा भएको रोगब्याधी निको भएर जानेछ भन्ने जनविश्वास छ । हिमालबाट बगेको नदी र पहाडबाट बगेको नदीमा जडिबुटी मिसिएर आउने भएकाले नदीमा नुहाउँदा रोग निको हुन्छ भन्ने मान्यता छ । मानिसलाई जडिबुटी मिसिएको पानीमा नुहाउन धार्मिक विचारतिर हामीलाई यसले लगेको छ । नुवाकोटको त्रिशूली नदी र टाँडी नदीको संगम भएको देवीघाट नदी जलपाय मन्दिरसँग जोडिएको ठाउँमा नुहायो भने छालाको रोग, लुतो निको हुन्छ र शरीरमा फूर्ति आउने गर्दछ । माघ १ गते छन्त्याल जातिको पर्व, तेह्रथुममा गौखुरी मेला सुरु हुन्छ ।

माघ १ गते थारूहरूको नयाँ वर्षको पर्वको रूपमा मनाइन्छ । पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गरेका छन् । पुरानो वर्षको बिदाइका बेलामा उनीहरू बंगुरलाई मार्ने गर्छन् । यो मार्ने बंगुरलाई जिता भनिन्छ । यो बंगुरको मासु पकाएर प्रसाद भनेर खाने, रातभर जाग्राम बस्ने र भुमा नृत्य सुरु गरिन्छ । भोलिपल्ट संक्रान्तिका लागि आफ्ना आफ्ना नातेदारहरूलाई बोलाई खाना खान दिन्छन् । माघी संक्रान्ति आउनु एक साताअघिदेखि नै थारू गाउँमा नाचगानको चहलपहल सुरु हुन्छ । यो पश्चिमतिर थारू गाउँहरूमा अझै बढी मनाइन्छ । पश्चिमतिर कैलाली र बुटवलका थारूले थारू कला, संस्कृति भेषभूषा लगाई तीन दिनसम्म यो पर्व मनाउँदछन् । यो पर्व मनाउँदा उनीहरू नाँचगान पनि गर्दछन् । यो नृत्य गर्दा भुमडा, झर्रा, मथुर तथा मगर संस्कृति झलकिने कौडा, सोरठी नाँच गरी गरिन्छ । यस्तो नाँचका माध्यमबाट नयाँ–नयाँ विचार आदानप्रदान गरी आफ्नो इष्टमित्रलाई यो दिनमा चामलको टीका लगाई र खाना खुवाएर यो नयाँ वर्ष माघी मनाउँछन् । यसलाई नेपालको राष्ट्रिय पर्वका रूपमा लिइन्छ ।

माघ १ गते नुवाकोट र रसुवाका कतिपय गाउँमा स्थानीय किसानले गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउँछन् । गोरु जुधाउने रमिता हेर्न धेरै मानिसको जमघट हुन्छ । गोरु जुधाउनका लागि गाउँका बासिन्दाले गोरु पालेका हुन्छन् ।

किरातहरूको पनि यो दिन यलेम्बर सम्वत फेरिने दिन हो । उनीहरूले पनि थारूले मनाए जस्तै यो नयाँ वर्ष पर्व मनाउँदछन् । माघ १ गते नुवाकोट र रसुवाका कतिपय गाउँमा स्थानीय किसानले गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउँछन् । गोरु जुधाउने रमिता हेर्न धेरै मानिसको जमघट हुन्छ । गोरु जुधाउन गाउँका बासिन्दाले गोरु पालेका हुन्छन् । सुदूरपश्चिममा माघ १ गते संक्रान्तिमा काग तिहार मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा सेलरोटी र अरू मीठा परिकार खुवाउने चलन पनि छ । यो हरेक वर्षको पुस महिनाको अन्तिम दिनमा विभिन्न प्रकारका रोटीहरू बनाएर, माघ संक्रान्तिको दिनमा नदी तलाउमा गएर नुहाई धुवाई गरी, पकाइएको रोटी पहिला कागलाई खुवाउने चलन छ । धार्मिक शास्त्रअनुसार कागलाई यमराजको सन्देश बाहकको रूपमा लिइन्छ । त्यसैले माघ संक्रान्तिका दिन कागलाई सम्मानका साथमा पूजा गर्ने र खानेकुरा दिने चलन अहिले पनि छ ।

प्युठानमा माघ १ गते मगर समुदायले आफ्नो संस्कृतिलाई बचाउन भूमे पूजा गरी मनाउँदछ । पृथ्वी मातालाई पूजा गरी यो पर्व मनाइन्छ । यस दिनमा नयाँ लुगा आफ्नो भेषभूषा लगाई सोरठी नाँच पनि गरिन्छ । यसमा सबै नरनारीले भाग लिन्छन् । जाजरकोटका बासिन्दाले माघे संक्रान्तिमा सिस्नु हानाहान गरी यो पर्व मनाउँछन् । यस दिनमा सिस्नु हानाहान नगरी बसियो भने अर्को जन्ममा सुँगुर भएर जन्म लिनुपर्छ भन्ने जनविश्वास छ । सिस्नुले हानाहान गरियो भने रोग पनि लाग्दैन र पकाएर खाइयो भने रगत सफा हुन्छ । माघ १ गते तिला संक्रान्ति वा पर्व पनि हो । यस दिन तिलको लड्डू बनाएर खाने चलन छ । तिलको लड्डु पहिले देवतालाई चढाई सबै परिवारले खान्छन् । नेपाल राष्ट्रभरि नै यो चलन छ । मैथिल समुदायमा खिचडी, तिलको लड्डु, तरुलका खाने गर्दछन् । उपत्यकावासीले पनि यो पर्वमा तरुल, तिल, घ्यू, चाकु, रोटी आदि खाने गर्दछन् ।

बेनी (म्याग्दी) माघ संक्रान्तिमा बेनी बासीहरूले रत्यौली गीत गाएर नाँच सुरु गरिन्छ । यो नाँच दुलहा दुलही वैवाहिक कार्यक्रमका लागि आँगनमा यो रत्यौली गीत गाएर नाच सुरु गरिन्छ । माघ १ गते संक्रान्तिमा तोल ल्होसार मनाउँदछन् । (शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?