सुनिल र रोनिशालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको मुख्य इभेन्ट्स मेन्स र लेडिज सिंगल्स दुवैमा वडा नम्बर १२ का खेलाडी विजेता भएका छन् । प्रतियोगिताको अन्तिम दिन भएको मेन्स सिंगल्समा सुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई चार-एकको सेटमा पराजित गर्नुभयो ।

त्यस्तै, लेडिज लेडिज सिंगल्समा वडा १२ की रोनिसा महर्जनले वडा नम्बर ८ की सुरम्या शाक्यलाई चार-एकले पराजित गर्दै स्वर्ण पदक जित्नुभयो । यो नतिजासँगै ललितपुर वडा नम्बर १२ ले कुल पाँच स्वर्ण र चार कास्य जित्दै टिम च्याम्पियन बनेको छ । त्यस्तै, वडा नम्बर १९ ले दुई स्वर्ण र एक कास्य जितेर दोस्रो स्थान हात पार्‍यो भने एक स्वर्ण, दुई रजत र तीन कास्य जितेर वडा नम्बर १६ ले तेस्रो स्थान हात पार्‍यो ।

१६ वर्षमुनिको गल्र्स फाइनलमा राष्ट्रिय खेलाडी इभाना थापाले स्वर्ण पदक जित्नुभएको छ । वडा १२ की थापाले प्रतिद्वन्द्वी वडा नम्बर १६ की अंकिता बज्राचार्यलाई ४–० को सोझो सेटमा पराजित गर्नुभयो ।

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्बर १२ र युवा क्लब हःखाद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताअन्तर्गत भएको यू-१६ ब्वाइजमा वडा नम्बर १३ का आयुष भारतीले स्वर्ण जित्नुभयो । उहाँले वडा ७ का एलेन महर्जनलाई चार-एकको सेटमा हराउनुभयो ।
त्यस्तै, ४० वर्षमाथिको भेट्रान पुरुषको फाइनलमा वडा नम्बर १९ का निकेनमान प्रधानले वडा नम्बर १८ का ठाकुर थापालाई ४-० ले पराजित गर्नुभयो भने ५० वर्षमाथिको भेट्रान्समा वडा ११ का राजेन्द्र बज्राचार्यले वडा २० का सुरेश बज्राचार्य ४-० ले हराएर स्वर्ण जित्नुभयो ।
त्यस्तै, मेन्स टिम इभेन्ट्समा वडा नम्बर १२ ले वडा नम्बर ७ लाई हराएर टिम च्याम्पियन बन्यो । कुल ६ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ५ सयभन्दा बढी खेलाडीहरूको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?