कोकद्वारा हजार महिलालाई ‘सक्षम’ तालिम

Read Time = 5 mins

काठमाडौं । कोका-कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिला व्यवसायीको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यका साथ सञ्चालित कार्यक्रममार्फत् एक हजारभन्दा बढी महिलालाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । गत ८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले आफ्नो बोटलिङ पार्टनर बोट्लर्स नेपालसँगको सहकार्यमा सक्षम कार्यक्रमको सुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेट प्रयोगसम्बन्धी तालिम दिइएको हो । प्रदेश १, २, ३ र ४ का मुख्य शहरमा एक-एक दिन गरी तालिम कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिममा सहभागी सौराहाकी गीता श्रेष्ठले भन्नुभयो, ‘महिला युवा व्यवसायीका लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आजभन्दा ४४ वर्षअघि जम्मा एक सय ६० रुपैयाँबाट व्यापार सुरु गरेकी थिएँ । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पूरा गर्न सक्षम भएकी छु । अहिले मेरा दुईवटा घर र एउटा पसल छ र एकल महिलाका रूपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेकी छु ।’

त्यस्तै, नारायणगढकी माया पाण्डेले भन्नुभयो, ‘सक्षम कार्यक्रमले हामीलाई आर्थिकरूपमा सशक्त हुन आवश्यक सीप सिकाउनुका साथै हाम्रो सञ्जाल विस्तार गर्ने अवसर पनि दिएको छ । सक्षम जस्तो सीप विकास कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसाय सञ्चालन गर्न हौसला दिएको छ ।’ कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘महिला सशक्तीकरण जहिले पनि हाम्रो मूल मान्यताका रूपमा रहेको छ । हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा सुरु गरेका थियौँ, जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकसँग मिलेर महिला व्यवसायीलाई व्यावसायिक तालिम, मेन्टरिङ नेटवर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिम दिएका थियौँ, जसले गर्दा उहाँँहरूलाई जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ । एक हजार महिला व्यवसायीलाई तालिम दिने लक्ष्य पूरा भएको छ । भविष्यमा पनि अझै धेरै महिलालाई सशक्तीकरण गर्दै जानेछौँ ।’

बोटलर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भन्नुभयो, ‘नेपालमा महिला उद्यमशीलता एक कदम अघि बढेको छ । काठमाडौं उपत्यकाबाहिर विशेष गरी धेरै खुद्रा पसल र रेस्टुरेन्ट छन्, जुन महिलाले चलाउँछन् । त्यस्ता महिलालाई आइपर्न सक्ने चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।’

सन् २०१० मा कोका-कोलाले विश्वव्यापीरूपमा फाइभ बाई ट्वेन्टी सञ्चालन गरेको थियो, जसअन्तर्गत सन् २०२० सम्म ५० लाख महिलालाई आर्थिकरूपमा सक्षम बनाउने लक्ष्य थियो । त्यस्तै, नेपालमा पनि विगत छ वर्षदेखि स्टार शप किपर ट्रेनिङ रिसोर्सेस सञ्चालन गर्दै आइरहेको छ, जसअन्तर्गत पाँच हजार आठ सय खुद्रा व्यवसायी महिलालाई तालिम दिइसकेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?