प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि आज (बुधबार) उम्मेदवारी दर्ता गरिँदै छ । संसद् सचिवालयले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज उम्मेदवारी दर्ता र माघ ५ बिहीबार प्रतिनिधिसभा सभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको हो ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । बुधबार नै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ ।

माघ ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै उम्मेदवारको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार पुस २६ गते बसेको बैठकले सभामुखको निर्वाचन माघ ५ गते गर्ने गरी मिति तोकेको हो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?