सत्ता गठबन्धनले ल्याउने राष्ट्रपति र सभामुखबारेको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार

विश्वासको मत दिए पनि प्रतिपक्षी दल भएको दाबी

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति लगायतका पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राख्नुभएको छ । मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरी जाने प्रस्ताव राख्नुभएको हो ।

यसको प्रतिक्रिया दिँदै लेखकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरूमा छलफल गर्न तयार रहेको बताउनुभयो । ‘सहमति गरेर जाने प्रधानमन्त्रीको प्रस्तावमा हामी छलफल गर्न तयार छौं भनेर भन्यौं,’ उहाँले भन्नुभयो । ‘प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दै गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरू भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौैं’ लेखकले भन्नुभयो,’ प्रधानमन्त्रीले यी पदहरूमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नुभएको छ । ’ यस्तै, सभामुखको विषयमा भने उम्मेदवारी दिने/नदिने विषयमा आन्तरिक छलफल गर्ने पनि उहाँले बताउनुभयो । बैठकमा कांग्रेसले विश्वासको मत दिए पनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन मिलाएर लान नसकेकोप्रति कटाक्ष गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष नेपालले ओलीलाई प्रश्न गर्दै भन्नुभयोे, ‘तपाईंहरूको हालत यही देखिसकेको छ । सरकारलाई समर्थन गरेका उपेन्द्रजी हुनुहुन्न । तपाईंको गठबन्धन दल छैन ?’ तर, अध्यक्ष नेपाल बोल्ने बेलामा ओली बाहिरिइसक्नुभएको थियो । त्यसको जवाफमा प्रचण्डले आफूहरूले जसपालाई मधेस मुख्यमन्त्री, अन्य प्रदेशमा मन्त्री र संघमा दुई मन्त्री दिएपछि असन्तुष्ट भएको जवाफ दिनुभएको थियो ।

सरकारलाई समर्थन गरेको जसपा भागबन्डा सम्मानजनक नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दा सहभागी भएन । उसले सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो । सर्वदलीय बैठकमा जनमत पार्टीबाट सहभागी भएका अब्दुल खानले प्रधानमन्त्रीले सहमति तोडेको गुनासो गर्नुभएको थियो । उहाँले सुरुमै आफूहरूले मागेको मन्त्रालय नपाएको भन्दै गठबन्धन धरापमा पर्ने टिप्पणी गर्नुभएको थियो । खानको गुनासोमा जवाफ दिँदै प्रचण्डले सहमतिमै मन्त्रालय भागवण्डाको टुंगो लगाएको बताउनुभएको थियो । सर्वदलीय बैठकमा सहभागी स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीले वर्तमान संविधान नमान्नेलाई नै उपप्रधानमन्त्री बनाएको भन्दै आपत्ति जनाउनुभएको थियो । सोही कारण संविधान तलमाथि परे त्यसको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने सिंहको टिप्पणी थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित हुनुहुन्थ्यो ।

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकबीच भनाभन
प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकबीच चर्काचर्की भएको छ । ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति भइसकेको विषयमा कांग्रेसले खेल्न खोजेको टिप्पणी गर्नुभएको थियो । उहाँले कांग्रेस प्रतिपक्षी दल पनि बन्न नसकेको टिप्पणी गर्नुभएको थियो । ‘तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । सबैतिर विश्वासको मत दिइरहनुभएको छ,’ ओलीले सर्वदलीय बैठकमा भन्नुभएको थियो, ‘सत्ताको लागि नखेल्नुस् । तपाईंहरू प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’

ओलीले बैठकमा यस्तो टिप्पणी गरेपछि कांग्रेस नेता लेखकले त्यसको जवाफ फर्काउनुभएको थियो । प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा आफूहरूको हस्ताक्षर नभएको आफूहरूले सत्ताका लागि नखेलेको उहाँको भनाइ थियो । लेखकले ओलीलाई संविधान बचाउनका लागि प्रचण्डलाई विश्वासको मत दिएको जवाफ फर्काउनुभएको थियो । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्षी हौँ । हामीले खेलिरहेका छैनौँ,’ लेखकले ओलीलाई जवाफ फर्काउनुभएको थियो, ‘राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ ।’

ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नसकिने भन्दै आफूहरूले सबै पदमा सहमति गरिसकेको बताउनुभएको थियो ‘राष्ट्रपति तपाईंहरूलाई दिन सकिँदैन । हामीले १० गते २ बजे सबै सहमति गरिसकेका छौँ,’ ओलीले बैठकमा भनेका थिए, ‘सहमति हुँदैन । कांग्रेसले दाउ नथापे हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?