सुरक्षित हवाई सेवा अनुगमनमा जोड

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटिआर जहाजको पोखरामा भएको दुर्घटनाप्रति दुःख प्रकट गर्दै सुरक्षित हवाई सेवाका लागि नियमन र अनुगमनमा जोड दिएको छ । हवाई दुर्घटनाबाट पुगेको जनधनको क्षतिमात्र नभई कोरोनापछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पु¥याउन सक्नेतर्फ सिनआईको पर्यटन समितिले चिन्ता प्रकट गरेको छ ।

विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर नेपाली पर्यटन उद्योगमा देखिएकाले दुर्घटनाले देशको दिगो समृद्धिका लागि बलियो आधारका रूपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम रहने सिएनआईको भनाइ छ ।

त्यसैले दुर्घटना न्यूनीकरण गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर प्रतिवेदन तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्ने सिएनआईको सुझाव छ । संकटमा समन्वय र सञ्चार महत्वपूर्ण हुने हुँदा राज्यका निकायबाट निजी क्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवि जोगिने गरी आवश्यक कदम चालिनुपर्नेमा सिएनआईको जोड छ ।

चुस्त नियमन तथा प्रभावकारी अनुगमनलगायतका आवश्यक उपाय अवलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि सिएनआईले ध्यानाकर्षण गराएको छ ।

साथै पछिल्ला केही दिनयता हवाई दुर्घटनासँग जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने अपुष्ट सामग्रीसमेत भाइरल भइरहेको र कतिपय विदेशी सञ्चार माध्यमले समेत तिनलाई सन्दर्भ मान्दा देशको साखमा नै आँच पु¥याउने जोखिम देखिएको भन्दै सामाजिक सञ्जालमा त्यस्ता सामग्री प्रचारप्रसारमा निगरानी तथा नियन्त्रणका लागि पनि आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?