पुरानै लयमा फर्कियो लभ्लीहिल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । सदरमुकाम बेनीको दक्षिणी मोहडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको संख्यामा यहाँ आउने प्रेमजोडीहरू यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । उत्तरतर्फ आँखै अगाडि चाँदीझैँ सेता टलक्क टल्केका हिमशृंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैँचा, रूखका बुट्यानहरू, हावामा बयेली खेलिरहेका फूलहरू, भुर्र–भुर्र उडिरहेका चराहरू अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरू देखिने लभ्लीहिल (प्रणयशिखर) मा हिजोआज पर्यटक आगमन वढ्दै गएको छ ।

आसपासमा देखिने हिम श्रृंखला, चौफेरै देखिने हरियाली र आकर्षक भू-बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका डरले गत दुई वर्षसम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज आफ्नै लयमा फर्किन थालेको छ । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका-२ खबरानजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीहरूका कारण हिजोआज लभ्लीहिल गुलजार बन्दै जान थालेको छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि दुई वर्षसम्म कोरोना संक्रमणका डरले सुनसान भएको थियो । अहिले भने यहाँ रौनक सुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ । विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ, लभ्लीहिल । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामकरण गरिएको छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरू देख्न सकिन्छ ।

यसैगरी, म्याग्दी जिल्लाको अधिकांश भू-भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरू बताउँछन् ।

लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरू रमाउने स्थलका रूपमा विकसित भइरहेको छ । यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?