जनकपुर अपहरणपछि हत्या : नेपाली दुई र भारतीय प्रहरीद्वारा ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

जनकपुरधाम । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभएको हो ।

उहाँले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भयो । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक क्षेत्रीले भन्नुभयो, ‘शंकास्पद व्यक्ति २ जनालाई नियन्त्रणमा लिएका छौँ । इण्डिया प्रहरीले पनि तीन जना नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुई वटा शव ल्याइएको खबर आएको थियो । शव आफ्नो बच्चाहरुको भएको भनिसक्नुभएको अवस्था छ । दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छाँै । संलग्न भएको आशंकामा केसमा किसानकुमार पण्डित र मुकेस पाशवान नियन्त्रणमा हुनुहुन्छ । केही व्यक्ति अझ फरार भएको भन्ने छ । खोजतलास जारी छ । शव गाढिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’

उहाँले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताउनु भयो । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरि नसकेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?