२० पारि विवाह गर्ने युवतीलाई ग्यास सिलिण्डर उपहार

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाल विवाहविरुद्ध ‘बिहेवारी, २० वर्ष पारि’ भन्ने नारा खुबै प्रचलित छ । यो नारा नेपाल सरकारसहित विभिन्न संघ संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् । संविधानमा तोकिएअनुसार विवाहको लागि उपयुक्त उमेर २० वर्ष माथि हो । बाल विवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रमसमेत ल्याइरहेका छन् । बाँके जिल्लाको खजुरा गाउँपालिका–५ ले पनि बालविवाह रोक्ने अनौठो जुक्ति निकालेको छ ।

वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्यास सिलिण्डर उपहार दिने भएको छ । वडाध्यक्ष गरिबे शेषका अनुसार बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरेको हो । वडा नम्बर ५ ले सार्वजनिक सूचना नै जारी गरेर यस्तो बताएको हो । वडाले जारी गरेको सूचनामा २० वर्ष पुगिसकेपछि विवाह गरेका युवतीहरूलाई उपहार लिन वडामा निवदेन दिन आग्रह गरिएको छ । ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरूको विवाहमा उपहारस्वरूप सिलिण्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरूले उपहार लिन प्रमाणसहित वडा कार्यालयमा जानकारी गराउनुहोला ।’, वडाले जारी गरेको सूचनामा भनिएको छ ।

वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकाले यस्तो योजना अघि सारिएको बताउनुभएको छ । ‘वडा नम्बर ५ मा मधेसी र मुस्लिम समुदायको बाहुल्य छ । उनीहरूको शैक्षिक स्तरसमेत माथि उठ्न सकेको छैन । बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौँ,’ वडाअध्यक्ष शेष भन्नुहुन्छ । वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, र्‍याली जस्ता कार्यक्रम गर्दा पनि नसकेको बताउनुभयो । वडा नम्बर ५ को कार्यालय यही माघ ३ गते सिलिण्डर दिने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?