मुख्य बजारमा बसपार्क नहुँदा समस्यै समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । बागलुङ जिल्लाको पुरानो सदरमुकाम हो गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्र गतिमा बस्ती बिस्तार भइरहेको छ । बस्ती बिस्तारसँगै यातायातको चाप पनि उत्तिकै बढ्दो छ । दैनिक हजारौँ मानिसहरुको आवत जावत हुने गलकोट बजारमा बसपार्कको अभाव खड्केको छ । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ । बिस्तारै विकासले गति दिँदै गएको यस बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकीनै  छ ।

गलकोट  भौगोलिक हिसाबले पछाडि रहे पनि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीच भाग भएर गएपछि थुप्रै विकासका संभावनाका ढोकाहरु खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा विकास भएपछि यहाँ धेरै संरचनाहरु निर्माण गर्नु पर्ने देखिएको छ । दैनिकी सयौँ साना तथा ठूला सवारी साधानहरु व्यवस्थापन गर्न निकै चुनौती छ ।

दिनदिनै अव्यवस्थित रुपमा भएको बस्ती बिस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । सबैभन्दा बढी चुनौती त पार्किङमा छ । मध्य पहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएकाे गलकोटमा ठूला-ठूला घर भवन निर्माण भइरहेका छन् । गलकोटमा तीव्र रुपमा बजार बिस्तार हुँदा बसपार्कको अतिआवश्यक परेको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडानम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो ।

बजार क्षेत्रमा भएको खाली जग्गाहरुमा पनि तीव्र रुपमा बस्ती निर्माण भएपछि बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या भएको भण्डारीको भनाई छ । यद्यपी बस पार्कका लागि जग्गा जोख्ने काम भइरहेको उहाँले बताउनुभयो । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्था नगरिएको भण्डारी बताउनुहुन्छ ।

“पछिल्लो दशक गलकोटको जनघनत्व बढीभयो, सवारी साधानहरु पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिर्वाय भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खास्सै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ” प्रवक्ता भण्डारीले भन्नुभयो ।

बजारलाई व्यवस्थित गराउन बसपार्कका लागि जग्गा व्यवस्थान गर्ने प्रदेश र संघ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गर्ने भण्डारीले बताउनुभयो । बजार साँघुरो र त्यहीमाथि सवारी साधनको चाप बढ्दा व्यवस्थापनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ ।

प्रवक्ता भण्डारी भन्नुहुन्छ- “गलकोट बजार पहिलेदेखि नै साँघुरो थियो, लोकमार्गले जोडिएपछि झन् घर, भवनहरु थपिए, व्यापार व्यवसाय बढ्यो, सवारी तथा मालवाहक गाडीहरु पनि थपिए, त्यसले गर्दा अहिले बजारमा पार्किङ व्यवस्थापनमा चुनौती थपिएको छ, सानो बजारमा ठूलागाडीहरु भित्रिएपछि व्यवस्थापनमा समस्याभयो ।”

दैनिक गलकोट बजार भएर लोकमार्गमा सयौँ सवारी साधान गुड्ने र गाउँबाट बजारमाआउने गाडीहरुले दुर्घटना जोखिम बढाएको भन्दै अहिले बजार क्षेत्रको सडकलाई एकतर्फी रुपमा संचालन गरेर समस्या सामाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

भण्डारीले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणका लागि चोकचोकमा होर्डिबोर्ड राख्ने तथा साना सवारी साधनलाई खुल्ला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

गलकोट बजार पनि एक दशक अगाडि सम्म सुनसान रहेकोमा अहिले भिडभाड बढेको स्थानीय बताउँछन् । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो हुँदा व्यापार व्यवसायगर्न समस्या भएको स्थानीय व्यवसायी छबिलाल शर्माले गुनासो पोख्नु भयो । उहाँले दिन प्रतिदिन गाडी र मान्छेको चाप बढ्दै गएको र बजार अस्तव्यस्त बनेको बताउनुभयो ।

शर्माले भन्नुभयो- “गलकोट बजारमा व्यवसाय गर्न समस्या हुँदै गएको छ, बजार व्यवस्थापन पनि राम्रोसँग हुन सकेको छैन, लोकमार्गमा चल्ने र यहाँबाट पोखरा, काठमाडौँ, बुटवल जाने गाडीको भिड उस्तै हुन्छ, अझगाउँबाट दिनदिनै मान्छे ल्याउने र सामान बोक्ने गाडीहरुले बजार भद्रगोल भएको छ, गाडीआएर पसल अगाडि रोकिन्छ, गाडीले पसलै छेकेपछि कसरी व्यापार हुन्थ्यो र ?”

शर्माले सवारी साधनको चाप बढेपछि गलकोट क्षेत्रमा एउटा बसपार्क आवश्यक रहेको बताउनुभयो । गलकोटमा एक दशक अघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले बजार भरिएको उहाँको भनाई छ । बढदो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठूला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभाव खड्किएको उहाँ बताउनुहुन्छ ।

“आजभन्दा आठवर्ष पछाडि फर्केर हेर्दा गलकोटको अवस्था यस्तो थिएन, सुनसान थियो, सामान्य पसल र केही घरहरु मात्रै थिए, अहिले तीव्र बजारी करण भएको छ । गाउँबाट मान्छेहरु बसाइँसराइ गरेर यही आउन थाले, विकासले गर्दा यहाँ जनसंख्या बढ्यो, त्यस कारण गलकोटमा बसपार्कको अति आवश्यक छ,”शर्मा भन्नुहुन्छ- “सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधन छन्, बजारको जता हेर्‍यो त्यतै गाडीले भरिएकाछन्, मान्छेलाई हिड्न पनि समस्या छ ।”

गाडी चालक हरिबहादुर खड्काले बजारमा पार्किङको व्यवस्था नहुँदा यात्रु र चालकले सास्ती खेप्नु परेको बताउनुहुन्छ । उहाँले बजार सानो भए पनि गाडीको चापले गर्दा सामान अनलोड गर्न र यात्रु खोज्न समस्या भइरहेको बताउनुभयो । बजारको निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नु पर्ने खड्काको भनाई छ ।

उहाँभन्नुहुन्छ- “यो बजारमा गाडी कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ, बजारमा धेरै गाडी हुन्छन्, कसैको पसल अगाडि लगेर राख्यो गाली दिन्छन्, वरपर राख्ने ठाउँ छैन, सरकारले यहाँ एउटा बसपार्क बनाई दिए हामीहरु जस्ता चालकलाई सजिलो हुन्थ्यो, अहिले एकातिर प्यासेन्जर, अर्का तिर गाडी र सामान हुन्छन्, निकै समस्या छ यहाँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?