बढ्दो व्यावसायिक ‘सुसाइट’ घटनाले निजी क्षेत्र चिन्तित

Read Time = 5 mins

काठमाडौं । उद्योग संगठन मोरङले गत दुई दिनमा इलाम निवासी व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगर निवासी व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको जनाएको छ । संगठनले यसप्रकारका दुखद र मार्मिक घटनाले उद्योगी/व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडा उजागर गरेको भन्दै यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीको उचित गुनासो, पिरमर्का, समस्या गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । देशमै उद्यम व्यवसाय गरी आत्मसम्मान साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियम परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको संगठनको भनाइ छ । दुखद घटनाबाट पाठ सिकी काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकका रूपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रक्रियागत सुधारका लागि सम्बन्धित सबैमा संगठनले अपिलसमेत गरेको छ ।

स्वदेशमै व्यवसाय गरी आत्मसम्मान साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियम परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको संगठनको भनाइ छ ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले उद्योग व्यवसायलाई पेशा बनाई दैनिक जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघसंस्थाको माध्यमबाट पद्धति सुधारका लागि राज्यका संयन्त्रलाई दबाब दिन अरूका लागि प्रेरणा स्रोत हुन अपिल गरेको छ । संसद् चालु रहेको अवस्थामा संसद् भवनअगाडि सामाजिक सञ्जालमा व्यावसायिक जीवनका भोगाइको वेदना उल्लेख गरी इलामका प्रेम आचार्यले आफ्नो शरीरमा आगो लगाई आत्मदाह गरी मृत्युवरण गर्नु र विराटनगरका मोहन निरौला र केही महिनाअघि लहान, पर्सा, नेपालगञ्जमा समेत बैंकिङ आतंकका कारण आत्महत्या गरेका घटनाले समग्र निजी क्षेत्र मर्माहित र गम्भीर भएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाका दबाब र अन्यायका धेरै कुरा आइरहेका छन् । यस्ता अप्रिय घटना हुन नदिन, व्यवसायीको मनोबल बढाउन राज्यका सबै निकायले आर्थिक क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्र कार्यान्वयन गर्न सकिने गरी सकारात्मक र उद्योग, वाणिज्यमैत्री बनोस् र हालका बैंकिङ व्यवस्था र ब्याजदर स्थायित्वका लागि सरकारको ध्यानाकर्षण गर्दै अबिलम्ब समस्या समाधानका लागि सम्बोधन गर्न पनि जोडदार माग गर्दछौँ ।’

हाल ब्याजदरको अप्रत्यासित वृद्धि गरिनु, ब्याज तथा साँवा तिर्न केही समयको याचना गर्दा अपमान सहनुपर्ने र तरलता अभाव गरी खाने अचल सम्पत्ति धितो सस्तोमा लिई परियोजना, व्यक्तिगत जमानी र अचल सम्पत्ति सुरक्षणबापत धितो लिने तर व्यवसायीको व्यवसाय पूर्वानुमान गर्न सक्ने गरी बनाई लगानी सुरक्षित गर्नु जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । जनताको निक्षेप जम्माका कारण बैंकलाई कानुनी तबरले सुरक्षित बनाए झैं सो रकम ब्याजमा लिई उद्योग व्यवसाय चलाउनेको उद्योग, व्यवसाय पनि सुरक्षित बनाउन ढिलो भइसकेको पनि उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?