भू-माफियाविरुद्ध घारिबथानका स्थानीय एकजुट

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । भू-माफियाको सञ्जालले जग्गा हडप्ने प्रयास थालेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, कालिञ्जोर घारिबथानका स्थानीय एकजुट भएका छन् । गएको आइतबार दिउँसो चिन्दै नचिनेका मानिसहरू आएर जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले भू-माफिया गिरोहका सात जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए । आफूहरूले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरू आएर नापजाँच गरेको घटनापछि गाउँमा कोही नयाँ मानिस आउँदा डर लाग्न थालेको स्थानीय सन्तोषी अस्थानीले गुनासो गर्नुभयो ।

अर्का स्थानीय दयासागर गौतमले गाउँमा केही समय अघिदेखि नै नयाँ-नयाँ मानिसहरू आएर जग्गाको बारेमा सोधखोज गर्ने गरेको बताउनुभयो । पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आइरहेका स्थानीय भू-माफिया सल्बलाउन थालेपछि त्रसित भएका छन् । जग्गाधनी प्रमाण-पुर्जा (लालपुर्जा) नरहेको यो जग्गा स्थानीयले गाउँका दुई/चार जना मानिस राखेर कागज बनाइ वर्षौं अघिदेखि बेचविखन गरेर भोगचलन गर्दै आइरहेका छन् ।

कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्री पीडित स्थानीयलाई लिएर भू-माफियाको शंकास्पद गतिविधिबारे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मालपोत कार्यालयका प्रमुखकहाँ जाने तयारी गरिरहेको बताउनुहुन्छ । स्थानीयले बताएअनुसार कालिञ्जोर क्षेत्रको सो जग्गा नापीको टोली खटिँदा जग्गाधनी नखुलेकाले बे–निस्सा भनी उल्लेख गरिएको हुनसक्ने मालपोत कार्यालयले जनाएको छ । पछिल्लो समय सर्लाहीमा भू-माफियाहरू निकै सक्रिय छन् । उनीहरूले अर्कैको जग्गा हडप्ने, नक्कली मोही खडा गर्नेजस्ता सोझासिधा नागरिकलाई दुःख दिने काम गर्दै आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?