आत्मदाहनामामा लेखिएको प्रेमप्रसाद- चिन्तन

Read Time = 18 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
घरायसी किनमेलको सिलसिला सकेर अशन बजारबाट फर्कँदै गर्दा खर्पनमा च्याउ डुलाएर बेच्दै गरेका एकजना किसान युवा अरू कसैलाई सुनाउँदै थिए-बानेश्वरको संसद् भवनअगाडि एकजनाले आफैंले आफैंलाई आगो लगाएर मर्‍यो । साँचो पनि हुनसक्छ, अफबाह पनि हुन सक्छ । खासै महत्व दिइएन । सामान्य किसानको त्यो सूचनाको पहुँच र सूचना प्रवाह गर्ने शैली देखेर दंग लाग्यो । किन आत्मदाहजस्तो कठिन निर्णय गरेको होला ? भन्ने खुल्दुली भने थियो । मनले नै जवाफ दियो- कुनै गैरसरकारी संस्था प्रायोजित क्यामेरा मिलाएर गरिएको घटना होला, तुरुन्त तोकिएका मानिसले उद्धार गर्छन्, अस्पताल लगिन्छ, उपचार गरिन्छ घटना सकिन्छ ।

घर आएर समाचार हेर्दा घटना वास्तविक र कारुणिक रहेछ । सामाजिक सञ्जालमा छाएका कारण उनले लेखेको आत्मदाहनामामा पढ्न मन लाग्यो । धेरै लामो रहेछ, पढ्दै गएपछि पढौं–पढौं लाग्यो । बेलुका पढेँ । लाग्यो- उनले लेखेको कुरामा धेरै भोगाइ लुकेको छ । त्यो भोगाइ उन्नको मात्र होइन । नेपालमा केही गर्छु भन्ने नागरिकको प्रतिनिधि भोगाइ हो । उनको लेखाइमा एउटा दर्शन नै लुकेको पाएँ । ठूला–ठूला दार्शनिकको दर्शन पनि जनजीविकालाई कसरी सहज बनाउने भन्ने हो । कार्ल माक्र्स, अब्राहम लिंकनहरूको चर्चा गर्दा पनि उनीहरूले जनजीविकाको सहजीकरणलाई जोड दिएका छन् ।

कसैले संघर्षको बाटो र सर्वाहाराको अधिनायकत्वको बाटोको कुरा गरेका छन् भने कसैले जनताको इच्छाबाट चुनिएका प्रतिनिधिमार्फत् जनजीविकामा सुधारका कुरा गरेका छन् । यी भुइँका मान्छे प्रेमप्रसाद आचार्यले आत्मदाहलाई क्रान्ति मानेर आत्मदाह गर्दै गर्दा लेखेको आत्मदाहनामामा पनि जनजीविकामा सुधारका कुरा गरेका छन् । उनले आफ्नो असफल भोगाइबाट भोगेको दर्शन सबैलाई साझा गरेर यो संसार त्याग गरेका छन् । प्रेमप्रसादको लेखेका विषय सबै सत्य नहुन पनि सक्लान् । कतिपय विषय भावनामा बगेर लेखेको हुनसक्छ । तर, जनताका रूपमा जोकोही सर्वसाधारणले भोगेका विषय भएका कारण यसलाई नजर अन्दाज गर्न मिल्दैन । क्लिष्ट शब्द, लामा लामा अनुच्छेद, कठोर व्याकरणको प्रयोग गरेर लेखिएको लिखतमात्र दर्शन होइन यस्ता भुइँमान्छेले लेखेको विषय, अग्नि समाधि लिन बाध्यपार्ने परिवार, समाज, देश, शासकसँगको जुधाइबाट प्रष्फुटित भएको चिन्तन हो । जसलाई शासनको अभिभारा लिएर बसेकाहरूले मनन् गर्न जरुरी छ ।
के छ त प्रेमप्रसाद आचार्यको मृत्युनामामा ? यसलाई दर्शन वा चिन्तन किन भनियो भने- उनले लेखेका विषयमा राज्यले सम्बोधन ग¥यो भने नेपाली जनताको जीविकामा धेरै सहजता थपिनेछ । के सन्देश लुकेको छ त स्वर्गीय आचार्यको आत्मदाहनामामा ? यो आलेखमा यस्तै विषयमा चर्चा गरिनेछ ।

ठूला व्यापारिक घरानाको शोषण :
नेपाललाई उत्पादनको खाँचो छ । आयात प्रतिस्थापन्न गर्न होस् वा निर्यात प्रवर्धन गर्न । भन्सार केन्द्रित राजस्व प्रणालीलाई परिवर्तन गरेर आत्मनिर्भर आर्थिक प्रणाली बनाउँन पनि उत्पादनको खाँचो छ । यस्तो उत्पादनमा पनि कृषि उत्पादनको खाँचो छ । धेरै ठूलो जनसंख्या कृषिमा निर्भर भएको कारण कृषि उत्पादकत्व बढाउन सक्दा धेरै जनताको जीवनस्तर उकास्न सकिन्छ । औद्योगिक विकास गर्न कृषीजन्य कच्चा पदार्थ उत्पादन गरेर औद्योगिक विकास गर्न सकिन्छ । यो पृ्ष्ठभूमि बनाउनुको तात्पर्य- व्यावसायिक कृषिमा लागेका स्थानीय उत्पादन प्रणालीलाई बढावा दिने किसान-व्यवसायी देशको आर्थिक विकासका जग हुन् भन्न खोजिएको हो ।

साना किसानहरूको अनुकूल हुनेगरी उत्पादनको वातावरण नबनेसम्म सामूहिक खेती प्रणालीको मेसो नभएको देशमा कृषिको विकास गर्छु भन्नु सस्तो प्रचारबाजीमात्र हो । प्रेमप्रसादको आत्मदाहनामामा किसानको सामान खरिद गर्ने ठूला व्यापारीहरूको रवैया स्पष्ट उल्लेख भएको छ ।

यी साना किसानहरूको अनुकूल हुनेगरी उत्पादनको वातावरण नबनेसम्म सामूहिक खेती प्रणालीको मेसो नभएको देशमा कृषिको विकास गर्छु भन्नु सस्तो प्रचारबाजीमात्र हो । प्रेमप्रसादको आत्मदाहनामामा किसानको सामान खरिद गर्ने ठूला व्यापारीहरूको रवैया स्पस्ट उल्लेख भएको छ । उपेन्द्र महतो, मीनबहादुर, बिगमार्ट, साथीमार्ट, गोल्यान स्वरूप, डाबर नेपाललगायत सबै ठूला घरानाको रवैया आफूले ठूलो राशि कमाउनुपर्ने तर सामान्य किसान र व्यावसायिक कृषिकर्ममा लागेका साना व्यापारी र किसानलाई भने सताउने । भुक्तानी नै नदिने, दिए पनि कम दिने, मार्जिन अति धेरै लिने, दिएको अर्डर सामान तयार भइसकेपछि रद्द गरिदिने काम ठूला घरानाले गरेको कारण उनी निराश भएर डिप्रेसनमा गएको देखिन्छ ।

कृषिमा दिइने अनुदान वास्तविक किसानले नपाएर गलत व्यक्तिमा गएको स्पष्ट किटान गरेका छन् । उन्ले नाम नै उल्लेख गरेका छन् । त्यो आजका दिनमा पनि अनुसन्धान गर्न सकिन्छ । अनुदान प्राप्त गर्नेमा जनप्रतिनिधि र उनका आफन्त, पार्टीका झोले र अनुदान स्वीकृत गर्नेलाई घूस दिनेहरू रहेको उनको भनाइ छ । नेपालको अहिलेको अवस्थामा सर्वसाधारण जनता भएर कुनै निकायमा सेवा लिन जानु भनेको देश छाड्ने निष्कर्षमा पुग्नु हो । प्रेमप्रसादहरूका लागि मृत्युवरण गर्नु हो ।

पुलिस प्रशासन :
इलाममा फलेको साग काठमाडौं ल्याएर बेच्नुपर्दाको हैरानी कहालीलाग्दो छ । सरकारको कुनै निकायले बनाइदिएको नीति नियमलाई सिरानी बनाएर अतिरिक्त रकम अर्थात् घूस असुल्ने पुलिसको रबैयाको दिक्क लाग्ने गरी चित्रण गरेका छन् । नेपालमा बनेका कृषि उपजहरू बजारीकरणका लागि राम्रो सम्भावना भएको क्षेत्रमा लगेर बेच्न बाधा अड्चन हुनुनपर्ने हो । किनभने विदेशवबाट आयातित तरकारीले नेपाली उत्पादनलाई गोहीले सानो जीवलाइै निलेझैँ स्वात्तै निलिसकेको छ ।

एक भागमा उब्जेको तरकारी अर्को भागमा लगेर बेच्न प्रोत्साहन गर्नु पर्ने हो । तर, यहाँ ठीक उल्टो छ- भारतीय तरकारीको आयातमा सबैको सहजीकरण छ । नेपाली उत्पादन बेचविखनमा हन्डर । कोसेलीपातका सामानमा समेत पुलिसको नजर लागेको गुनासो कतिपय यात्रुहरूबाट सुनिएको छ । व्यापारिक प्रयोजनका लागि ओसारपसार त दण्डनीय हुने नै भयो । प्रेमप्रसादले यस्तो समस्याबाट बच्न पुलिसलाई पाँच हजारसम्न घूस दिएको उल्लेख गरेका छन् । तरकारी माग्ने नदिए गाडीभित्रै पसेर झिक्ने कुराले उनलाई व्यथित बनाएको छ ।

आपतविपतका बेला अब्बल काम गरेता पनि सडकमै बसेर रकम असुल्ने निकाय भनेको पुलिस पनि एक हो । संसारभरि नै पुलिस आवश्यक खराबी हो । नेपालको हकमा आवश्यकता कम खराबी बढी भएको निकाय हो । जहाँ जहाँ जनताका बढी काम हुन्छन् ती निकायमा बढी घूसको प्रचलन रहेको छ नेपालमा । राहदानी, मालपोत, नापी, यातायात, जिल्ला प्रशासन कार्यालयहरूमा बिचौलियाविना काम फत्ते गर्न लगभग असम्भव छ । प्रेमप्रसाद जस्ता भाग्यले पनि ठगेका भुइँमान्छेको के कुरा गर्नु !

कसैलाई जनतामा परिवर्तनको अनुभूति दिन्छु भन्ने लागेको छ भने यी निकायमा सुधार गर्दा हुन्छ । कार्ल माक्र्स, लेनिन वा बीपी कोइरालाका तस्वीर बैठकमा राखेर ठूला-ठूला गफ हाँक्नुको कुनै तुक छैन । बौद्धिक विलासका डिङ हाँक्नुको साटो यी निकायहरूको सेवा प्रवाहमा सहजीकरण गरिदिए गरिब जनता सरकारप्रति अनुगृहीत हुनेछन् । समाजवाद उन्मुख राज्यप्रणालीको स्थापना भन्ने अनि बिचौलिया र आसेपासे पुँजीपतिहरूलाई परिपोषण गर्न सबै प्रमुख दलहरू तल्लीन रहने कार्यले हाम्रो समाजलाई कहाँ पुर्‍याउला ? प्रेमप्रसादले उल्लेख गरेका ठूला घराना अधिकांश नेपालका ठूला पार्टीका आसेपासे पुँजीपतिहरू हुन् । उनीहरू राज्यबाट संरक्षित छन् ।

उनीहरू शासनमा प्रभाव पार्ने हैसियत राख्दछन् । यस्तो अवस्थामा आसेपासे पुँजीपतिहरूले भुईंका व्यापारीहरूलाई शोषण गर्ने अनि आसेपासे पुँजीपतिहरूलाई राज्यका ठूला पार्टीलगायतका निकायले परिपोषण गर्ने क्रम चलिरहन्छ । यो कुचक्रले धनी झन् धनी हुने र गरिब झन् गरिब हुने उल्टो दिशाको समाजवादतर्फ देश चल्दा कति प्रेमप्रसादहरूले समाधि लिनुपर्ने हो अनुमान गर्न कठिन छ ।

क्रियाको प्रतिक्रिया :
नेपालको शासन व्यवस्थाको बहुतै प्रिय बानी छ– कुनै क्रिया भयो भने प्रतिक्रिया गर्ने अनि स्वप्निल संसारमा रमाउँने । गृहमन्त्रालयको निर्देशनमा खुला भाँडा र जर्किनमा पेट्रोल बेच्न नपाइने उर्दी जारी भएको छ । निमोनिया भएको बालकलाई नाइटोमा भिक्स लगाएर निको पार्न खोजे जस्तो । समस्या छ शासन सञ्चालनमा । खाँचों छ- संस्था निर्माण र सुधारको, शासकीय सुधारको । प्रहरी भन्छ बोतल र ग्यालनमा पेट्रोल नबेच ।

प्रेमप्रसादको आत्मदाहको विषयलाई सरकारले सम्बोधन गरेको छ । गृहमन्त्री रविले भावुक श्रद्धाञ्जलि लेख्नुभएको छ । आशा जगाउँन नसक्नुमा क्षमा याचना गर्नु भएको छ । मन्त्रिपरिषद्ले छानविन गरेर यथोचित कारबाही गर्ने भनेको छ । जुन सकारात्मक पक्ष हो ।

प्रहरीले आफ्ना निकायलाई भन्नुपर्‍यो- नारामा मात्र ‘प्रहरी मेरो साथी’ होइन, वास्तविकतामा आउनु प¥यो । प्रहरी अधिकारीले छातीमा हात राखेर भन्नसक्छन् कोही लाउके नलिइकन प्रहरी निकायमा जाने नागरिकको गुनासो सम्बोधन गरिन्छ ? लगभग असम्भव । प्रहरी उपल्लो निकायको आदेश निर्देशनमा चल्न बानी परिसकेको छ, माथिको आदेश तामेल गर जनताका कुरा नेता जानुन् वा दैवै जानुन् । प्रहरीले भन्नुपर्‍यो अब उप्रान्त प्रेमप्रसादहरूसँग तरकारीलगायत नेपाली सामान बेचबिखन गर्दा घुस लिन पाइँदैन । तरकारी मागेर खान पाइँदैन । गाडीमा चढेर जबर्जस्ती गर्नु त डकैती नै हो । तब पो सुधार । पेट्रोल खुला नबेच जस्ता क्रियाको प्रतिक्रिया जनाउँने काम नगरौँ । कम्तीमा रवि लामिछानेको गृह मन्त्रालयले नगरोस् ।

सरकारको सम्बोधन :
प्रेमप्रसादको आत्मदाहको विषयलाई सरकारले सम्बोधन गरेको छ । गृहमन्त्री रविले भावुक श्रद्धाञ्जलि लेख्नुभएको छ । आशा जगाउन नसक्नुमा क्षमा याचना गर्नु भएको छ । मन्त्रिपरिषद्ले छानविन गरेर यथोचित कारबाही गर्ने भनेको छ । जुन सकारात्मक पक्ष हो । प्रचण्ड वा रविहरू सरकारमा नभएका भए यस्ता घटना यसै बिलाउँन पनि सक्ने थिए । तत्कालीन परिस्थितिमा प्रतिक्रिया गरिएको हो भने यसको पनि अर्थ छैन । यो तत्परताको अर्थ त्यसबेलामात्र रहनेछ- जुन् बेला राज्यले यस्ता समस्याको दीर्घकालीन समाधानको पहल गर्नेछ । प्रेमको परिवारलाई आर्थिक राहत र छोरीहरूको पढाइ र आश्रयका लागि सहयोग गर्नु प्राथमिक दायित्वमात्र हो ।

यसको दीर्घकालीन समाधान भनेको शासकीय सुधार हो । यस्तो सुधार जसको कारण नेपालीहरू आफ्नै देशमा काम गरेर खान प्रोत्साहित बनून् । जहाँ जाँदा पनि सहयोगी हातहरू भेटिऊन् । नेपालको सेवा प्रवाह देखेर विदेश पलायन भएकाहरू पनि स्वदेश फर्किन लालायित बनून् । सरकार र राज्यका अन्य निकायहरूले वास्तवमै शासकीय सुधार गरेर परिवर्तन देखियो भने प्रेमको आत्माले शान्ति पाउला । अन्यथा कति प्रेमप्रसादहरूले जीवन समाप्त पार्नु पर्ने हो आकलन गर्न कठिन छ । यस्ता पीडित जनताको घाउमा मल्हम नलगाउँने हो भने आफ्नो कार्यकक्षमा तस्वीर थपेर बहिर्गमन हुनुको कुनै अर्थ रहनेछैन ।

भाइ स्वर्गवासी प्रेम उपनाम सन्तोष राख्यौ तर सन्तोषको क्षण फेला पारेनौ । त्यस्तो विकल्प नरोजेको भए हुन्थ्यो रोजिहाल्यौ । तिम्रो अभियानमा साथ दिन रञ्जु दर्शनाहरू लाग्ने कुरा सामाजिक सञ्जालमा पढ्न पाइएको छ । तिमीले उठाएका विषय सम्बोधन हुने नै छन् । तिम्रो आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जलि प्रेम ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?