भूकम्पको जोखिममा बैतडी, प्राविधिकको सल्लाह विना नै बन्छन् संरचना

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका मूख्य बजार क्षेत्रमा बनेका संरचनाहरु भूकम्पको जोखिममा रहेका छन् । बजार क्षेत्रमा बनेका संरचनाहरु मापदण्ड विपरीत निर्माण हुँदा भूकम्पीय जोखिममा रहेको पाइएको हो । जिल्लामा नयाँ बनेका घर तथा अन्य ठुला संरचनाहरु नक्सा पास र माटो परिक्षण नगरी मापदण्ड विपरीत बन्ने गरेका छन् । नगरपालिकाले पटक पटक नयाँ संरचना निर्माण गर्दा अनिवार्य नक्सा पास गरेर मात्रै बनाउन आग्रह गरेपनि बैंकिङ कारोबार गर्ने गरेको दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिह बोहराले बताउनुभयो । ‘३ तलाको भन्दा ठुला संरचना निमार्ण गर्दा अनिवार्य माटो परिक्षण नक्सा पास लगायका प्रक्रियाहरु पुरा गर्नुपर्दछ । उक्त प्रक्रिया कसैले पनि पु¥याउँदैनन् । ’उहाँले भन्नुभयो ।
जिल्लाको गढी, गोठालापानी, शाहिलेक, पाटन र खोडपे बजारमा बनेका अधिकांश संरचनाहरु भूकम्पीय जोखीमा रहेका छन् । पाटन नगरपालिकाका पाटन बजार र खोडपे बजारमा बन्ने गरेका अधिकांस संरचनाहरु भूकम्पीय जोखिममा रहेका पाटन नगरपालिकाका सब–इन्जिनियर दिनेश ऐरले जानकारी दिनुभयो । ‘बजार क्षेत्रहरुमा घरहरु प्राविधिकको सल्लाह बिना बन्छन् । नगरपालिकामा नक्सा पासदेखी प्रक्रिया समेत आउदैनन् ’ ऐरले भन्नुभयो ।

नगरपालिका भित्र निर्माण गरिएका घरहरुको अवस्थाका बारेमा अभिलेखिकरण समेत गरिएको पाटन नगरपालिकाले जनाएको छ । अभिलेखिकरणका क्रममा अधिकांस संरचनाहरु भूकम्प प्रतिरोधी नरहेको नगरपालिकाले जनाएको हो । नक्सा पास नगरेपनि घरहरु निर्माणमा देखिएका कमी कमजोरीको बारेमा घरधनीहरुलाई जानकारी गराउने गरिएको छ ।

बजार क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा बन्ने नयाँ घर तथा भवनहरु भूकम्पीय जोखीममा रहेका छन् । पालिका मार्फत बन्ने संरचनाहरुमा अनिवार्य रुपमा प्राविधिक मूल्याङ्कन गरेर मात्रै बन्ने गरीको सिगास गाउँपालिकाका इन्जिनियर कृष्ण बहादुर चलाउनेले जानकारी दिनुभयो । ‘हामीले निमार्ण गर्ने संरचनाहरु भूकम्प प्रतिरोधी नै छन् ’चलााउनेले भन्नुभयो ‘निजी संरचनाहरु भने जोखीम नै छ । ’ सरकारी भवनहरु भुकम्प प्रतिरोधी नै हुने गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख लाल सिंह बिष्टले दाबी गर्नुभयो । ‘हाम्रो मातहत बन्ने भवन तथा संरचनाहरु अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्छौ’ उहाँले भन्नुभयो ‘स्थानीय तह मातहत बन्ने संरचनाको बारेमा हामिलाई जानकारी छैन ।’
गत मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी १ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका छन् ।यस्तै गत कार्तिकमा डोटी केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परी ६ जनाको मृत्यु भएको थियो भने दर्शनौ घरहरु भत्किएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?