किसानलाई घाँसको समस्या

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । घोराही उपमहानगरपालिका-२ निवासी गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । २० लाख रुपैयाँ लगानी गरेर राप्ती बोयर ब्राखा फर्म दर्ता गरेर व्यावसायिकरूपमा ५० बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारी जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउनुहुन्छ ।

परम्परागतरूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभए पनि व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानहरूलाई बाख्राको आहाराको समस्या हुने गरेको भण्डारी बताउनुहुन्छ । ‘सिजनमा घाँसको समस्या हुँदैन तर अफ सिजनमा घाँस नै पाइँदैन,’ व्यवसायी भण्डारीले भन्नुभयोे, ‘जसले गर्दा व्यवसायीलाई महँगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन ।’ व्यावसायिक बाख्रापालनका लागि किसानलाई साइलेज मेसिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानहरूलाई घाँसको समस्या नहुने उहाँ बताउनुहुन्छ ।

व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८/२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ । दानामात्रै खुवाउने, जंगलमा चराएरमात्रै बाख्रापालन गर्न सक्ने अवस्था नरहेकाले व्यावसायिकरूपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ । ‘नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो तर कतिपय वनजंगलमा बाख्रा चराउन पनि पाइँदैन,’ उहाँले भन्नुभयोे, ‘त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ ।’ परम्परागतरूपमा आपूmहरूले घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरे पनि व्यावसायिक बाख्रापालनका लागि त्यो भरपर्दाे छैन ।’

यसैगरी अर्का व्यवसायी प्रशान्त बुढाथोकी जिल्लामा व्यावसायिकरूपमा लागेका किसानहरूलाई घाँसकै समस्या भएको बताउनुहुन्छ । विगत दुई वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्रामा जयन्ती पशुपन्छी फर्म दर्ता गरेर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका बुढाथोकी उत्पादन भएका बाख्राहरू बिक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउनुहुन्छ । ‘जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ । उत्पादन भएका खसी बिक्रीमा छैन,’ उहाँले भन्नुभयो, ‘सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरे पनि सधैँभरिलाई पुग्दैन । उहाँ सिजनको घाँसलाई स्टोर गरेर राख्नका लागि साइलेज मेसिन भइदिए जिल्लाभरका व्यवसायीलाई पशुपालनका लागि सहज हुने बताउनुहुन्छ । साइलेज सिजन भए सिजनमा खेर जाने घाँसलाई समेत स्टोर गरेर राख्न सकिने उहाँ बताउनुहुन्छ ।

दाङ सिर्जनशील पशुपन्छी सहकारी संस्थाका उपाध्यक्ष समेत रहनुभएका बुढाथोकी मेसिन उपलब्धका लागि आर्थिक स्रोत जुटे व्यावसायिक घाँस खेतीका लागि करिब १२ बिगाह जमिनसमेत खोजिसकेको बताउनुहुन्छ । ‘सहकारीले घाँस उत्पादनका लागि जग्गासमेत खोज्ने काम गरिरहेको छ तर मेसिन किन्ने पैसा छैन,’ उपाध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘स्थानीय सरकारले सहयोग गरे व्यवसायीलाई ठूलो सहयोग मिल्ने थियो ।’ जिल्लामा व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसान बढे पनि घाँसको समस्याका कारण धेरै किसानहरू समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानहरूले जग्गा भाडामा लिएर घाँसखेती गरे पनि सिँचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको व्यवसायी बुढाथोकी बताउनुहुन्छ । दाङ सिर्जनशील पशुपन्छी सहकारी संस्थाका उपाध्यक्ष प्रशान्त बुढाथोकीका अनुसार जिल्लामा सहकारीमा आबद्ध ९६ जना व्यावसायिक किसानहरू जिल्लामा रहनुभएको छ । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि धेरै युवाहरू वैदेशिक रोजगारी छोडेर यस पेशामा आबद्ध हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?