रवि लामिछानेको आक्रामक आरोप, नेपाली सञ्चारगृहका लागि गम्भीर चुनौती

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही मिडिया, मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर आरोप लगाउनुभएको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा आयोजित विशेष पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही मिडियामाथि गम्भीर आरोप लगाउनुभएको हो ।

लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिनुभयो । उहाँले नेपालका मिडियाहरूले सिण्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै तीव्र आलोचना गर्नुभयो । उहाँले केही पत्रिका र अनलाइनको नामै तोकेर विभिन्न गम्भीर आरोप लगाउनुभयो । आफूलाई स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै तथानाम लेख्ने केही सञ्चार माध्यमले नै गम्भीर अपराध गरेर लुकाएको उहाँको आरोप छ ।

केही मिडिया र तिनका सम्पादकको नामै तोकेर आक्रोशित रूपमा प्रस्तुत हुनुभएका लामिछानेले मिडिया र सम्पादकको ‘मुकुण्डो’ उतारिदिने चेतावनीसमेत दिनुभयो । ‘यहाँ सिण्डिकेट स्थापित गर्ने यहाँका मिडियाहरू हुन् । उनीहरूले बार्गेनिङ गर्छन्,’ लामिछानेले भन्नुभयो, ‘तिनलाई खुसी नपारी केही गर्नै सकिँदैन, गर्नै पाइँदैन । कान्तिपुरलाई दाम नचढाइ यहाँ बाँच्न पाइन्न । तिनैले स्वार्थ बाझिने कुरा गर्छन् । कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट, कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट । कन्फ्ल्क्टि अफ इन्ट्रेष्टको राम्रो व्याख्या गर्ने हो भने गरौँ त ? नेपाली मिडियाको कन्फ्ल्क्टि अफ इन्ट्रेष्टको व्याख्या गर्ने आँट कसैको छैन ।’ उहाँले केही मिडियाले गरेको भनिएका बार्गेनिङबारे पनि कुरा उठाउनुभयो । त्यस्तै, केही मिडिया सञ्चालक र तिनका आफन्तले गरेको अपराधबारे समेत टिप्पणी गर्नुभयो ।

सभापति लामिछानेले पत्रपत्रिकाहरूले आफूलाई चारैतिरबाट प्रहार गरेको समेत बताउनुभयो । ‘मैले चार वर्षअघि सार्वजनिक रूपमा भनेको कुरालाई पत्रपत्रिकामा मुख्य हेडलाइन बनाएर छापिने ?,’ उहाँले भन्नुभयो, ‘चार वर्ष पहिलेको कुरालाई निरन्तर हेडलाइन जुन पत्रपत्रिकाले नियमित ढंगले मलाई प्रहार गरे । मिडिया छ भन्दैमा एउटा मान्छेलाई बिनाकारण पेलिरहने होइन ।’

चुनाव लड्न चुनौती
उहाँले मिडियाका मालिक र १२ भाइ सम्पादकको काम नै आफूलाई खेद्ने भएको बताउनुभयो । ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे,’ उहाँले भन्नुभयो, ‘१२ जना पत्रकार जम्मा भयो, एक ठाउँमा बस्यो, रक्सी खायो, यो लेखौँ भन्यो, लेख्यो । मलाई चरित्रहीनसमेत बनाएर हेडलाइन राखिएको छ । सम्पादकहरूको वास्तविक हैसियत र मुकुण्डो म देखाइदिन्छु ।’

लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभयो । उहाँले देश चलाउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौती दिनुभयो । ‘मिडियाले चाहे मात्र चलाउने ? देश चलाउने हो भने चुनाव लड्न आउनुस् । चितवन २ मा मसँग चुनाव लड्न आउनुस् । कैलास सिरोहिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को-को आउने हो आउनुस् । देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो ।’ आफू कुनै सञ्चार माध्यमसँग नडराउने उहाँको भनाइ छ ।

गलत समाचार लेखे कार्यालय घेर्ने चेतावनी
लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिनुभएको छ । तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले गलत समाचार लेखे आफ्ना समर्थक लिएर कान्तिपुर घेर्न पुग्ने उहाँले चेतावनी दिनुभयो । गलत समाचार लेख्ने मिडियालाई आफूले आफ्नो तरिकाले कारबाही गर्ने लामिछानेको चेतावनी थियो ।

सरकारबाट रास्वपाको बहिर्गमन, समर्थन यथावत्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राख्ने रास्वपाको निर्णय छ । बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना मन्त्री र एकजना राज्यमन्त्री सरकारमा सहभागी थिए ।

यसअघि, उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभएका सभापति लामिछानेले सर्वोच्च अदालतले नागरिकताको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पद गुमेको थियो ।

‘अर्को चुनावमा प्रधानमन्त्री बन्नेगरी रास्वपा अघि बढ्छ’
रास्वपा सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने दाबी गर्नुभएको छ । ‘कसैसँग नडराई यो पार्टी चलाउँछौँ । आउने चुनावमा सरकार बनाउने गरी, उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी पार्टी अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘१२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला । म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे पनि बहुलाए पनि रास्वपा चल्छ ।’

उहाँले आफू अहिले उपप्रधान तथा गृहमन्त्री केही नभएको भन्दै अबको पाँच वर्षमा प्रधानमन्त्री हुनेगरी संसद्मा फर्किएर आउने दाबी गर्नुभयो । अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ । ‘लखेट्दा लखेट्दा उपप्रधानमन्त्री बनाए अब प्रधानमन्त्री बनाउने त होला,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र थिएन भने म जस्ता व्यक्ति सांसद जितेर उपप्रधानमन्त्री बन्न सक्ने ल्याकत यही व्यवस्थामा रहेको छ । निरंकुश व्यवस्था भएको भए यो सम्भव थिएन ।’ लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने पनि बताउनुभयो ।

सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छु : प्रधानमन्त्री
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलहरू बीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्तासाझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताउनुभयो ।

रास्वपाका तीन मन्त्रीद्वारा राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना मन्त्रीले राजीनामा दिएका छन् । रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारी निवास बालुवाटारमा आइतबार साँझ भेटेर राजीनामा बुझाएका हुन् ।

रास्वपाबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

लामिछानेको अभिव्यक्तिप्रति महासंघको आपत्ति
नेपाल पत्रकार महासंघले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चार माध्यमबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेको छ । विज्ञप्तिमार्फत महासंघले रविले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको निष्कर्ष निकालेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ । लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै, आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ ।’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’

संसद्को चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयमता गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको महासंघको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारका पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?